काठमाण्डौ । नेपाल पर्यटन बोर्ड २५ औं वर्षमा प्रवेश गरेको छ ।

पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा स्थापित नेपालको पहिलो संस्थाका रुपमा स्थापना गरिएको बोर्डले आइतबार राजधानीमा एक विशेष समारोहका बीच रजत महोत्सव मनाएको छ।

नेपालको पर्यटन क्षेत्रको विकास एवम् विस्तारका लागि निजी–सरकारी साझेदारीमा छुट्टै निकाय बनाउने उद्देश्यसहित सन् १९९८ डिसेम्बर ३१ मा बोर्डको स्थापना गरिएको थियो । 

रजत महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन आर्थिक विकासको मेरुदण्ड भएको उल्लेख गर्दै नेपालीपन, स्थानीय स्वाद र स्वामित्वको पर्यटन आजको आवश्यक्ता भएको बताए ।

सन् २०२३ मा १० लाख बढि पर्यटकले नेपाली भ्रमण गरेको र यसबाट पर्यटक आगमनमा सरकारले लिएको लक्ष्य पुरा भएको भन्दै उनले पर्यटनको नीतिगत सुधार तथा अन्य आवश्यक सुधारको लागि काम भइरहेको बताए ।
 

पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालको पर्यटन प्रवर्द्धनका लागि विश्व पर्यटनमा देखिएका बदंलिदा आयामहरुको अनुभव लिदै सोही अनुरुप कार्यक्रम ल्याउनु पर्ने आवश्यक्तामाथी जोड दिए ।
 

बोर्डका प्रथम अध्यक्ष एवम् पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले बोर्डको स्थापनाको औचित्यमाथि प्रकाश पार्दै यसलाई कमजोर होइन थप बलियो बनाएर लैजानु पर्नेमा जोड दिए ।
यसैगरी, पर्यटन बोर्डका अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयका सचिव डा दीपक काफ्लेले नेपालको पर्यटन विश्वमा अनुपम रहेको उल्लेख गर्दै पर्यटन विकासको लागि बोर्डलाई थप प्रभावकारी ढंगले अघि बढाइने बताए । 
बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले विश्वव्यापी कोरोना महामारीले सन २०२०,२०२१ र २०२२ त्यति सुखद नरहेपनि सन २०२३ को अन्तसम्म आइपुग्दा १० लाख बढि पर्यटक नेपाल भित्रयाएको र पर्यटन विस्तारै लयमा फर्किदै गएको बताए । 
कार्यक्रममा पर्यटन व्यवसायी अम्बिका श्रेष्ठसहित बोर्डसँगको सहकार्यमा रहेका विभिन्न कूटनीतिक नियोग चिनियाँ दूतावास, भारतीय दुताबास, अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरु युएनडीपी, युएएसएड, डब्ल्यूडब्ल्युएफ एवं अन्य पर्यटनसँग सम्बन्धित संस्थाहरु हान, नाटा, टान, नारा, पीटीसि एवं निजी क्षेत्रका अन्य विभिन्न संघसंस्थाहरु एवं विभिन्न व्यक्ति हरुलाई सम्मान गरिएको थियो ।