काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र ईण्डियन चम्बर अफ कमर्श(आईसीसी) बीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्ने सम्बन्धि दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ।

युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो।

नेपाल उद्योग परिसंघले आइतबार काठमाण्डौमा गरेको कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र ईण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष अमेया प्रभुले हस्ताक्षर गरेका हुन् ।

यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्न सरोकारवालाहरुलाई प्लाटफर्म प्रदान गर्ने छ । साथै दुई देशबीच द्धिपक्षिय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुनेछ ।
कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले नेपालमा पर्यटन, जलविद्युत, सुचना प्रविधि लगायतका क्षेत्रमा लगानीको अवसरहरु रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरुलाई आग्रह गरे ।

 

यसैगरी, ईण्डियन चेम्बर अफ कमर्शका अध्यक्ष प्रभुले नेपाल र भारतबीचको सम्बन्धलाई महत्त्व दिंदै दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए ।