काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समिति (बोर्ड) को बैठकले भोलि बुधबार बस्ने भएको छ।
बैठकमा मुख्यगरी २ वटा विषयमा छलफल हुने र निक्र्यौल निस्किने सम्भावना छ। ती विषय हुन् नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने र नेप्से–३० सञ्चालनमा ल्याउनेछ।
नेप्से सञ्चालक समितिको भोलि बिहान ९ बजेतिर बैठक बस्ने तयारी भइरहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए। ‘नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने, नेप्से–३० सञ्चालनमा ल्याउनेलगायतका विषयमा छलफल हुनेछ’, उनले भने, ‘सम्भवतः केही विषयमा सञ्चालक समितिको बैठकले टुंगो लगाउला।’
नेप्से सञ्चालक समितिले अनुमति दिएमा नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्स पाएका ७ वटा नयाँ ब्रोकर कम्पनीहरुले भोलि नै कारोबार सदस्यता पाउनेछन्। यदि भोलि यो विषयमा टुंगो लागेमा ती नयाँ ब्रोकर कम्पनीले यही असारभित्रै कारोबार सञ्चालन गर्ने सम्भावना पनि छ।
नेप्सेले नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्डलाई कारोबार सदस्यता प्रदान गर्ने तयारी गरेको हो।
सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्। ‘तीमध्ये १० वटा कम्पनीको फाइनल अध्ययन गरेर कारोबार सदस्यता प्रदानका लागि आशयपत्र (एलओआई) दिइएको छ’, प्रवक्ता पराजुलीले भने।
नेप्सेबाट एलओई पाउने नयाँ ब्रोकर कम्पनीमा नबिल सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, मेगा स्टक मार्केट्स, हातेमालो फाइनान्सियल सर्भिसेस, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिजमनी वर्ल्ड सेयर एक्सचेन्ज, माछापुच्छ्रे सेक्युरिटिज र कलश स्टक मार्केट छन्। नेप्सेले अब यी कम्पनीको भौतिक तथा प्राविधिक पूर्वाधार निरीक्षण गरेरमात्रै कारोबार सदस्यता प्रदान गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago