काठमाण्डौ । साताको दोश्रो कारोबार दिन बजारको निरन्तरको गिरावट थामिएको छ । यो दिन नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ को विन्दूमा उक्लिएको छ । 

बजार परसूचक बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । 

बजारमा पछिल्लो समय लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन । यसैको प्रतिक्रिया स्वरुप बजार निरन्तर घटिरहेको छ । 

बढोत्तरी हुँदा निकै न्यून अंकले मात्र बजार बढेको देखिन्छ । 

मुलुकको आर्थिक तथा वित्तीय परिदृश्य, सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था लगायतमा तत्काल चमात्कारिक परिवर्तन हुनसक्ने सम्भावना न्यून रहेकोले बजारमा ठूलै बढोत्तरी सुरु हुने सम्भावना पनि देखिन्न । 

सोमबार बजारमा १ अर्ब ९ करोड बढीको सेयर कारोबार भएको छ । 

बित्तबाहेकका सबै समूहमा बढोत्तरी भएको छ । 

यो दिन बैंकिङ समूह १.९८ अंकले बढ्यो भने विकास बैंक समूहमा १६.२६ अंकको बढोत्तरी देखियो । वित्त समूह ०.४४ अंकले घट्यो । 

होटल र पर्यटन समूह २९.८५ अंकले बढ्दा जलविद्युत समूह, इन्भेष्टमेन्ट समूह, जीवन बीमा समूह, निर्जीवन बीमा समूह, माइक्रोफाइनान्स समूह, उत्पादन तथा प्रशोधन समूहमा क्रमशः १६.३९ अंक, ०.०४ अंक, ५५.९२ अंक, ३२.७८ अंक, १८.६३ अंक र ६.५६ अंकले बढे । 

यो दिन म्युचुअल फण्ड समूह ०.०७ अंकले बढ्यो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा आइएमई लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यो कम्पनीको ५ करोड २८ लाख बढीको सेयर किनबेच भयो । 

दोश्रो स्थानमा शिवम सिमेन्टको ४ करोड १९ लाख बढीको कारोबार भयो भने नवील बैंकले ३ करोड ८५ लाख बढीको कारोबार गरेको छ ।

सोल्टी होटलले ३ करोड ३८ लाख बढीको कारोबार गर्दा एनआइसी एशिया २ करोड ६४ लाख कारोबारसहित पाँचौ स्थानमा रहन पुग्यो । 

धेरै कमाउने र गुमाउने कम्पनी

यो दिन पाँचवटा कम्पनीहरुको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । 

थ्रिस्टार हाइड्रोपावर लिमीटेड र दोल्ती पावर कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सर्किट लाग्यो । 

ग्रीन भेञ्चर्स लिमीटेड, रुरु जलविद्युत परियोजना र आशा लघुवित्तको सेयरमूल्य सर्किट लेभलमा पुग्यो । 

अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ९.२९ प्रतिशतले बढ्न पुग्यो । 

यो दिन लिवर्टी इनर्जीको सेयरमूल्यमा नकारात्मक सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घट्यो । 

कुमारी धनवृद्धि योजनाका इकाईमूल्य ७.७८ प्रतिशतले घट्यो । 

के भन्छन् जानकार ?
बजार जानकार अजयसिंह थापा(जय शम्भू
) आज बजार घटेर पनि १९६० माथि बन्द हुनुलाई सकारात्मक भन्छन् । 

‘यसले बजार माथि जानसक्ने बलियो सम्भावना देखाउँछ ।’ उनले भने–‘प्राविधिक रुपमा आज अनिर्णयको क्याण्डल बनेको छ, यसलाई भ्यालिड गर्न भोलि बजारमा बुलिस प्रकृतिको क्याण्डल बन्नुपर्छ । त्यसो भएमा बजारले माथिको गति लिनसक्छ । अन्यथा बजार फेरि तल गयो भने २–४ महिनासम्मै साइडवेजमा जान पनि सक्छ ।’ 

उनलाई आधारभूत रुपमा पनि माथि जानसक्ने सम्भावनाहरु देखिन थालेको भन्ने लाग्छ । ‘सरकारले ठेकेदारहरुको भुक्तानी गरेको छ ।

वाणिज्य बैंकहरुले ऋण लगानी बढाएका छन् । स्थानीय निकायमा जाने पैसामध्ये ६० प्रतिशतलाई बैंकहरुको निक्षेपको रुपमा गणना गर्न पाइने विषयवस्तु पनि बाहिरिएका छन् । यी सबै कारणले अब बजार माथि जानसक्छ ।’ उनले भने–‘तर आजको बजार भने परिपक्व थिएन ।’ 

अर्का बजार जानकार दामोदर गजुरेल भने राष्ट्रबैंक र अर्थमन्त्रालयले नीतिगत रुपमा केही ठूला परिवर्तनहरु नगरेसम्म बजार साइडवेजमै रहने र लगानीकर्ता पर्ख र हेरको अवस्थामै बस्नुपर्ने तर्क गर्छन् । 

‘अहिलेको समयमा मध्य र दीर्घकालका लागि लगानी गरेर होल्ड गर्ने समय हो ।’ उनले भने–‘प्राविधिक रुपमा पनि बजार कमजोर नै छ । आज अनिर्णयको क्याण्डल बनेको छ । अब बजार बढ्नैका लागि अगाडि बढ्यो भने पनि आगामी दिनहरुबाट कारोबार रकम पनि बढ्नुपर्छ, यसो हुन सकेन भने साइडवेजमै रहन्छ ।’