काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से)मा आज झिनो गिरावट आएको छ । 

आज नेप्से परिसूचक ६.४५ अंकले घटेर १९६१.३७ को विन्दूमा सीमित बन्न पुगेको छ । 

परिसूचकमा झिनो गिरावट आएको दिन आज गत तीनमहिनाकै सबैभन्दा कम कारोबार भएको छ । यो दिन बजारमा ७९ करोड ६८ बराबरको मात्र कारोबार भयो । 

यो दिन उत्पादन र प्रशोधनबाहेक सबै समूहको परिसूचकमा रातो पोतियो । 

उत्पादन र प्रशोधन समूह १९.७२ अंकले बढेको यो दिन बैंकिङ, विकास बैंक र वित्त समूहमा क्रमशः २.९१, ४.११ र १२.७९ अंकको गिरावट आयो । 

होटल र पर्यटन समूह ४३.७३ अंकले घटेको यो दिन जलविद्युत समूहमा १३.०४ अंक, इन्भेष्टमेन्ट समूहमा ०.१४ अंक, जीवन बीमा समूहमा ६८.२८ अंक, निर्जीवन बीमा समूहमा ५८.८६ अंक, माइक्रोफाइनान्स समूहमा ७.५० अंक र म्युचुअल फण्ड समूहमा ०.११ अंकको गिरावट आयो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा २७७ कम्पनीको २४ लाख ८० हजार ९२९ कित्ता सेयर ७९ करोड ६८ लाख ७० हजार ४०८ रुपैयाँमा किनबेच भयो । 

सबैभन्दा बढी हिमालयन एभरेष्ट इन्स्योरेन्सको ७ करोड ५८ लाख बढीको संस्थापक सेयरको कारोबार भयो । 

साल्ट ट्रेडिङ कर्पोरेसनले २ करोड ९५ लाख बढीको कारोबार गरेको यो दिन आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ८२ लाख, घोराही सिमेन्टको २ करोड  ८० लाख, एभरेष्ट बैंकको २ करोड ३६ लाख बढीको सेयर कारोबार भयो । 

यो दिन लक्ष्मी सनराइज बैंक लिमीटेडको पनि २ करोड बढीको सेयर कारोबार भयो । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको सेयरमा पोजिटिभ सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो । 

नेरुडे लघुवित्तको सेयरमूल्यमा पनि सर्किट लेभलमा पुग्यो ।

इङ्वा हाइड्रोपावर लिमीटेडको मूल्य ७.३२ प्रतिशतले बढ्यो । 

यो दिन आरबीबी म्युचुअल फण्ड र लिवर्टी इनर्जी कम्पनी लिमीटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशत हाराहारीमा घटेर नेगेटिभ सर्किट लाग्यो । 

के भन्छन् जानकार ?
बजार जानकार केशव कोइराला(काका)को विश्लेषणमा ठूला लगानीकर्ता निस्क्रिय बस्दा बजारले सोंचेजस्तो गति लिन नसकेको हो । ‘अहिलेको बजार ट्रेडरले मात्र चलाएका छन् र उनीहरुले बिक्री गर्दा केही अंक घट्ने, किन्दा बढ्ने देखिएको छ ।’ उनले थपे–‘ठूला चाहिँ बजारमा प्रवेश नगर्नु पछाडिको एउटा कारण नियामकलाई नीतिगत परिवर्तनका लागि बाध्य पार्ने रणनीति पनि हुनसक्छ ।

उनले बजारमा अहिले नयाँ पैसा आउनसक्ने वातावरण नरहेको उल्लेख गर्दै आगामी दिनमा ट्रेडर्सबाट सप्लाई आए केही अंक अझै घट्नसक्ने अवस्था बन्नसक्ने प्रष्ट्याए । 

अर्का बजार जानकार अर्जुन थापा गभर्नर र सरकारबीच ट्यूनिङ नमिल्दा तथा बैंकको ब्याजदर नघट्दा सेयर बजारमा निराशा छाएको दाबी गर्छन् । 

‘अब लगानीकर्ताले बोनस घोषणा हुन थालेपछि मात्रै रिटर्नका आधारमा लगानी गर्नसक्ने अवस्था बन्ला । तर अहिले सानादेखि ठूला सबैखाले लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेका छन् ।’ उनले भने–‘राष्ट्रबैंकले नीतिगत सुधार नगरेसम्म बजार बढ्दैन।’