काठमाण्डौ । अघिल्लो साता झण्डै ४३ अङ्कले घटेको बजार परिसूचकमा यो साताको पहिलो कारोबार दिन आइतबार करिब ३२ अङ्कले गिरावट आएको छ । योसँगै बजार आज १९०० को विन्दुबाट तल झरेर आज १८८५ मा बन्द भएको छ। 

१८८० यसकारण पनि महत्वपूर्ण छ कि अघिल्लोपटक बुल बजारको अलटाइमहाइ पनि १८८० को विन्दूमै सकिएको थियो  । यसपटक लगभग ३२०० लाई अलटाइमहाइ बनाएको बजारले दुईपटक १८०० आसपास आएर माथि चढ्दै फेरि त्यही लाइनमा आएर आज बन्द भएको छ । 

निरन्तर घटेको बजारको अहिलेको गिरावट कति हुनसक्ला ? बजार कति घट्छ वा बढ्छ भनेर बुझ्नलाई एक सहज अनुमान लगाउनसक्ने इण्डिकेटर भनेको फिवोनासी नै हो । 

पहिलो आधार भनेको अघिल्लो पटकको आधारविन्दू १८०६ बाट लगभग १९८८ सम्म फिवोनासी तानेर हेर्दा फिवोको ०.६१ को विन्दु १८८० मा पर्न आउँछ । यस हिसाबले बजार यहाँबाट पुनः फर्कनसक्छ । 

दोस्रो आधार भने ट्रेण्ड लाईनमार्फत तानेर हेर्ने हो भने १८०६ र १८३४ लाई जोड्दा हालको विन्दु १८८० मा बलियो सपोर्ट भेटिन्छ । (हेर्नुहोस गोलाकारभित्र हरियो एरो) । यस आधारमा बजारले यही विन्दुबाट सपोर्ट लिनसक्ने सम्भावना पनि देखिन्छ । 

तेस्रो आधार भनेको यसभन्दा अगाडि पनि बजार एकपटक यही विन्दुबाट सपोर्ट लिएर फर्केको देखिन्छ । यी विभिन्न कारणले बजारले १८८० बाट सपोर्ट लिनसक्ने प्राविधिक आधारहरु देखिन्छ । भलै यो विन्दुबाट सपोर्ट नलिएमा बजारले अघिल्लोपटकको आधारविन्दु १८०६ लाई भत्काउने सम्भावना पनि देखिन्छ । 

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यस्ता विश्लेषण कारोबारका लागि कुनै सिफारिस भने होइन।)