काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ल्याउन लागेको नयाँ इन्डेक्स ‘नेप्से–३०’मा मौखिक सहमति प्रदान गरेको छ। 

एक साताअघि सेबोनको खुमलटारस्थित कार्यालयमा नेप्से र सेबोनका अधिकारीहरुबीच नेप्से–३०बारे छलफल भएको थियो। यसअघि नेप्सेले सेबोनमा नेप्से–३०को कार्यविधि पठाउँदै परामर्श मागेको थियो। 

नेप्सेका एक अधिकारीका अनुसार सेबोनले नेप्से–३० सञ्चालनमा ल्याउन मौखिक सहमति प्रदान गरेको छ। ‘सेबोनका पदाधिकारीहरुले मौखिक रुपमा नेप्से–३० सञ्चालन ल्याउनुहोस् भनेका छन्’, ती अधिकारीले भने। 

अब नेप्सेको सञ्चालक समिति (बोर्ड) बैठक नेप्से–३० सञ्चालनमा ल्याउने मिति तय गर्ने ती अधिकारीले बताए। ‘यो साताभित्रै सञ्चालक समितिको बैठक बस्न सक्छ’, ती अधिकारीले भने, ‘सञ्चालक समितिको बैठकमा नेप्से–३०को अजेन्डा पेस भएमा सञ्चालनको मिति तय हुन सक्छ।’

ती अधिकारीका अनुसार सबै प्रक्रिया सकारात्मक ढंगले नै अगाडि बढिरहेकोले साउनभित्रै नेप्से–३० सञ्चालनमा आउन सक्ने पनि बताए। ‘अन्य कुनै बाधा–अड्चन नभएको खण्डमा नेप्से–३० साउनभित्रै सञ्चालनमा आउन सक्छ’, उनले भने।

अहिले नेप्से–३० इन्डेक्सका लागि छनोट गरिएको ३० वटा कम्पनीको रियल टाइमको डाटा फिट गरेर इन्डेक्सको मुभमेन्ट हेर्ने काम भइरहेको छ। 

नेप्से उपसमूहमा रहेका १३ वटा समूहलाई ६ वटामा समायोजन गर्दै नेप्से–३०मा समावेश गरिने कम्पनीहरुको छनौट गरिएको छ। ती ६ वटा समूहबाट अधिकतममा ८ वटा र कम्तीमा १ कम्पनी समावेश गरिएको छ। 

नेप्सले उपसमूहमा समायोजन गर्दै वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई एउटै समूहमा राखेको छ। यो समूहबाट ८ वटा कम्पनी नेप्से–३० इन्डेक्सका लागि छनौट गरिएको छ। 

यसैगरी जीवन र निर्जीवन बीमालाई एउटै समूहमा राखिएको छ। यो समूहबाट ५ वटा कम्पनी छनौट गरिएको छ। 

त्यस्तै अन्य, होटेल तथा पर्यटन र कारोबारबाट एउटा समूह तयार गरिएको थियो। यो समूहबाट ३ वटा कम्पनी छनौट गरिएको छ। 

लघुवित्त समूहबाट ७ वटा, जलविद्युत समूहबाट ५ वटा र उत्पादन तथा प्रशोधन समूहबाट २ वटा नेप्से–३० इन्डेक्समा समावेश गरिएका छन्।