काठमाण्डौ । औद्योगिक घराना पञ्चकन्या समूहद्वारा प्रवद्र्धित पञ्चकन्या माई हाइड्रो पावरले निश्कासन गरेको ११ करोड रुपैयाँको आइपीओमा १३.३८ गुणा बढी आवेदन परेको छ । 

बिक्री प्रबन्धक सनराइज क्यापिटलका मर्चेन्ट बैकिंग हेड विजेन्द्र न्हूच्छे प्रधानका अनुसार आइपीओमा १ लाख ४५ हजार आवेदकबाट १ करोड ३४ लाख कित्ता खरीदका लागि आवेदन परेको हो । 

यो कम्पनीले साउन १ गतेदेखि १०० रुपैयाँ अंकित दरका ११ लाख कित्ता आइपीओ निश्कासन गरेको थियो । कुल निश्कासित कित्तामध्ये ४ प्रतिशतले हुन आउने ४४ हजार कित्ता आफ्ना कर्मचारीका लागि र ५ प्रतिशतले हुन आउने ५५ हजार कित्ता म्युचुअल फण्डका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणका लागि भने कुल १० लाख १ हजार कित्ता सुरक्षित गरिएको छ। 

सर्वसाधारणका लागि १० लाख १ हजार कित्ता मात्र रहेकोले यो हिसाबले हेर्दा आइपीओ १३.३८ गुणा आवेदन परेको देखिन्छ । 

आइपीओ खरीदका लागि साउन ४ गतेसम्म आवेदन दिइसक्नुपर्ने थियो । 

यो कम्पनीले इलामको माबु, माईमझुवा, र सुलुबुङ्ग गाविसमा अप्पर माई जलविद्युत आयोजनाबाट ९.९८ मेगावाट बिद्युत उत्पादन गरिसकेको छ ।

१८.१ मेगावाट क्षमताको आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ४० लाख रुपैयाँ रहेको छ।  

यही साता बाँडफाँड !
प्रधानका अनुसार डाटा भेरिफाई गर्ने क्रम जारी रहेको र एकदुई दिनमै यो काम सकिनेछ । 'डेटा फेरिफाईको काम सकिएलगत्तै हामी बाँडफाँड गर्छौ ।' उनले भने-'यो साताभित्र बाँडफाँड हुन्छ ।' 

कतिले पाउँछन् ?
सार्वजनिक निश्कासन नियमावलीअनुसार एक आवेदकलाई न्यूनतम १० कित्ता अनिवार्य गरिएकोले यो कम्पनीको आइपीओ भर्नेमध्ये १ लाख १ सयले मात्र सेयर पाउने देखिन्छ । बाँकी ४४ हजार ९ सय लगानीकर्ताको यो पटक पनि रित्तो हुने देखिएको छ ।