 
                     
                                
                             
                                    काठमाण्डौ । देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्डले आगामी जेठ १९ गतेदेखि इकाईहरुको बिक्री खुलाउने भएको छ ।
धितोपत्र बोर्डबाट स्वीकृति पाएको एनआइबिएल एस क्यापिटलद्वारा प्रवद्र्धित ‘एनआइबिएल सहभागिता फण्ड’ नामको खुल्लामुखी स्किमले पहिलो चरणमा सर्वसाधारणका लागि आगामी जेठ १९ गतेदेखि १ करोड २५ लाख इकाईको बिक्री खुलाउने भएको हो ।
बोर्डले बैशाख ९ गते ५० करोड बराबरको खुल्लामुखी फण्डलाई ५ करोड इकाई जारी गरी कारोबार थाल्न स्वीकृति दिएको थियो ।
कुल ५ करोड इकाईमध्ये बिज पूँजीबापत १० लाख इकाई योजना व्यवस्थापन एनआइबिएल एस क्यापिटल लिमीटेड तथा ६५ लाख इकाई कोष प्रवद्र्धन नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडका लागि गरी कुल निश्कासनको १५ प्रतिशतले हुन आउने ७५ लाख सुरक्षित गरी सर्वसाधारणका लागि बाँकी न्यूनतम ४ करोड २५ इकाई निश्कासन हुनेमा पहिलो चरणअन्तरगत १ करोड २५ लाख इकाई निश्कासन गर्न लागिएको हो ।
बन्दमुखी स्किममा झै यस्ता स्किममा समेत प्रति इकाई १० रुपैयाँको दरले जारी गरिनेछ ।
इच्छुकले न्यूनतम १०० कित्तादेखि अधिकतम २.५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । इच्छुकले आश्वा सेवा संचालनको अनुमति पाएका बैंक तथा बित्तीय संस्था वा शाखाबाट वा अनलाइनबाट समेत आवेदन दिन सक्नेछन् ।
नेपालमा खुल्लामुखी म्युचुअल फण्ड नयाँ विषय हो । विश्वबजारमा भने म्युचुअल फण्डहरुको पर्याय नै यस्ता स्किमहरु हुने गरेका छन् ।
के हो खुल्लामुखी स्किम ?
योजनाबाट संकलन गरिने रकमको मात्रा तथा समयसीमा नतोकी कुनै पनि समयमा लगानीकर्तालाई इकाई बिक्री गर्न सकिने गरी जारी गरिएको सामूहिक लगानी योजनालाई खुलामुखी योजना भनिन्छ । 
यस प्रकारको योजनामा योजना व्यवस्थापकले जति पनि संख्यामा योजना इकाई बिक्री गर्न सक्नेछन् र लगानीकर्ताले इकाई बिक्री गर्न आएमा पुनः खरीद पनि गरिदिन सक्नेछन् ।
अहिले एनआइबिएल एस क्यापिटलले ५० करोड रुपैयाँको स्किम संचालनको स्वीकृति पाएको छ । यसको आकार बढेसँगै त्यसका लागि पनि धितोपत्र बोर्डबाट स्वीकृति भने लिनुपर्नेछ ।
यस्ता योजनामा तरलता बढी हुन्छ । लगानीकर्ताले फण्ड म्यानेजरलाई नै तुरुन्त बिक्री गर्नसक्ने भएकोले बिक्रीबाट प्राप्त रकम पनि तुरुन्तै भुक्तानी पाइन्छ ।
खुलामुखी योजना धितोपत्र बजारमा सूचीकृत नहुने भएकाले दोस्रो बजारमा कारोबार हुँदैन । खुलामुखी योजनाको इकाई ब्रोकरमार्फत खरीदबिक्री गर्न नपर्ने भएकोले कम झञ्झटिलो र कम खर्चिलो हुने समेत दाबी गरिएको छ । फण्ड व्यवस्थापन वा उसले तोकेका कलेक्सन एजेन्टबाट नै खरीदबिक्री गर्न पनि सकिन्छ ।
यस्तो फण्डको परिपक्व हुने अवधि हुन्न, अनन्तकालसम्म पनि जानसक्छ । सेटलमेन्ट गर्न पनि झञ्झट हुँदैन । समग्रमा यस्ता स्किममा लगानी गर्न सजिलो हुन्छ ।
खुल्लामुखी म्युचुअल फण्ड नेपालकालागि लगानीको नयाँ उपकरण हो ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19