काठमाण्डौ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा खराब नतिजा प्रस्तुत गरेको हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयरभाउमा नकारात्मक सर्किट लागेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेयतादेखि नै कम्पनीको सेयरभाउमा १० प्रतिशतले नकारात्मक सर्किट लागेको छ ।

कम्पनीले पहिलो त्रैमासमा १० लाख ८६ हजार रूपैयाँ मात्र खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्म ७२ लाख ८३ हजार रूपैयाँ खुद नाफा गरेको कम्पनीको यो नाफा यस वर्ष ८५ प्रतिशत कम भएको छ ।

कम्पनीको सञ्चालन नाफा पनि ८५ प्रतिशत घटेको छ । गत वर्ष १ करोड ४ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १५ लाख ५२ हजार रूपैयाँ मात्र यो नाफा गरेको छ । इम्पेरमेन्ट चार्ज भने यस वर्ष कम छ ।

गत वर्ष १ करोड २ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ६३ लाख १७ हजार रूपैयाँभन्दा बढी रहेको हो । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा १ करोड रूपैयाँभन्दा बढी ऋणात्मक छ ।

हाल कम्पनीको चुक्तापूँजी ३१ करोड ९८ लाख रूपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी १ रूपैयाँ ३६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रूपैयाँ ७४ पैसा  छ ।

यो दिन कम्पनीको सेयरमा बिक्री चाप अत्यधिक रहेको छ ।यो समाचार तयार पार्दाको समय मार्केट डेप्थमा हेर्दा कम्पनीको सेयरमा २१ हजार ५२० भन्दा बढी कित्ता सेयर बिक्री अर्डर रहेको छ भने खरीद माग १० कित्ता मात्र छ ।