काठमाण्डौ । आज पुस २८ गते एकैदिन पाँचवटा वाणिज्य बैंकको वार्षिक साधारणसभा (एजीएम) हुँदैछ। 

आज हिमालयन बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक र प्राइम कमर्सियल बैंकले वार्षिक साधारणसभा डाकेका हुन्। हिमालयन बैंकको सभा सभा काठमाण्डौको होटेल सोल्टीमा बिहान ११ बजे सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। 

सभाले सम्पति तथा दायित्व मूल्यांकन (डीडीएस)का आधारमा तय भएको १००ः८०.२८ सेयर स्वाप अनुपातमा सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव स्वीकृत गर्नेछ। प्राप्तिपछि हिमालयन बैंककै नामबाट एकीकृत कारोबार गर्न प्रस्ताव सभाले अनुमोदन गर्नेछ। बाट स्वीकृति लिने एजेन्डा पनि रहेको छ। 

यसैगरी सिभिल बैंकको वार्षिक साधराणसभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

सभाले सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्न गरिएका सम्पूर्ण कार्य स्वीकृत गर्नेछ। 

यसैगरी सिद्धार्थ बैंकको वार्षिक साधारणसभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सुरु हुनेछ । सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद लाभांश पारित गर्नेछ। 

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्नुपरेमा सम्पूर्ण कार्य अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

उता प्राइम कमर्सियल बैंकको वार्षिक साधारणसभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र करसहित ४.९५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। 

सभाले बैंकको संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पदमा ३ जना र सर्वसाधारण सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पदमा २ जना गरी जम्मा ५ जना मनोनयन वा नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ। 

लक्ष्मी बैंकको वार्षिक साधारणसभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ।

सभाले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण कार्य अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।