-अर्जुन तिमिल्सिना
पोखरा । संसारका ठूला सहरहरु दिनमा भन्दा रातमा बढी चम्किन्छन् । लण्डन र न्यूर्योकका सहर पनि दिनमा भन्दा रातमा पर्यटकले भरिभराउ हुन्छन् ।

यसै विषयलाई ख्याल गर्दै बुधबार पोखरास्थित उच्च अदालतले पोखराको मूख्यकेन्द्र लेक साइड २४ सै घण्टा खोल्न दिन जिल्ला प्रसासन कार्यालय कास्कीका नाममा अन्तरिम आदेश दिएको छ । योसँगै पोखरास्थित लेकसाइडका पर्यटन व्यवसायिहरुमा उत्साह थपिएको छ ।
 पोखरा पर्यटन परिषदका अध्यक्ष पोम
नारायण श्रेष्ठले आफुहरुले लामो समयदेखि उठाएको माग सम्भोधन भएको बताए ।  उनले भने, ‘हामी उत्साहित भएको छौं । अब आजबाटै २४ सै घण्टा लेकसाइड खुल्ने छ । पर्यटकको लागि  सेवा सुविधा पनि थपिने छन् ।’

लेकसाइडमा केही नयाँ व्यापार पनि थप हुने अपेक्षा गरेको बताउँदै उनले भने, ‘हामी सरकारसँग हातेमालो गरेर हिड्न तयार छौं।’

विश्वका अन्य देशसँगै  खासगरि भारत र चीनका पर्यटकलाई आफूहरुले लक्षित गरेको पनि उनले बताए । अहिले केही मात्रामा भए पनि कास्किमा पर्यटकको चहलपहल बढेको छ । उनले मुग्लिङ – पोखराको सडक निमार्णमा भएको ढिलाइ र असजिलो बाटोले पयर्टन व्यवसाय धरापमा परेको पनि बताए ।

लामो समयपछि अन्तरराष्ट्रिय एयरपोर्ट बन्यो तर यहाँबाट उडान हुन सकेको छैन । अन्तरराष्ट्रिय उडान सहज  रुपमा भए यूरोप, अमेरिकालगायतका मुलुकबाट अझै बढी पयर्टक आउने वातावरण बन्न सक्दछ । 

उनले भने, ‘जति सक्दो छिटो पोखराबाट अन्तरराष्ट्रिय उडानको गरियोस, यसमा सवैको पहल हुनुपर्दछ ।’

-सवै तस्बिरहरु : अर्जुन तिमिल्सिना/ बीजशाला