काठमाण्डौ ।पोखरामा दोस्रो मैत्रीपूर्ण दौड (अन्तरराष्ट्रिय माउण्टेन क्रस कन्ट्री) प्रतियोगिता हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास काठमाण्डौ तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एशोसिएशन र होटल एशोसिएशन पोखरा सहआयोजनामा आगामी मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता आयोजना हुन लागेको हो ।

उक्त प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको मंगलबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रबर्द्धनका लागि आयोजना गरिने प्रतियोगितामा नेपाल र चीनका १०/ १० वटा टिम सहभागी हुने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले बताए ।

प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्स चार्टर उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी १०४ जना चिनियाँ पोखरा आउन लागेका छन् । यसअघि सन् २०१९ मा पोखरा अन्तरराष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड–१९ महामारीका कारण प्रतियोगिता हुन सकेको थिएन । 

यसैगरी, चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वान सिनले यो कार्यक्रमले नेपाल र चीन सरकार एवं जनस्तरमा रही आएको लामो मैत्रीपूर्ण सम्बन्धलाई थप सुमधुर बनाउन तथा नेपालमा खेल पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवातालस्थित किनार बाराहीघाटबाट सुरू हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुपा पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाट आएर अन्त्य हुने छ । 
नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टिमले ३ लाख ६० हजार रुपैयाँ, दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ, चौथो टिमले १ लाख ४४ हजार रुपैयाँ र पाँचौं हुने टिमले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

व्यक्तिगत प्रतिस्पर्धामा प्रथमले १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत प्रतिस्पर्धामा चौथोदेखि १० औं तहमा आइपुग्ने धावकलाई पनि नगद पुरस्कारको व्यवस्था छ। यस्तै, विद्यार्थीको प्रतिस्पर्धामा पनि नगद पुरस्कारको व्यवस्था छ ।