काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमीटेड(नेपाल टेलिकम)ले आफ्नो १६ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

पुस गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकको निर्णयअनुसार पुस २९ गते  आइतबार काठमाण्डौको प्रदर्शनीमार्गस्थित राष्टियसभा गृहमा बिहान ११ बजे साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा अर्थमन्त्रालयबाट स्वीकृत भएपछि आर्थिक वर्ष २०७९-८० को कम्पनीको मुनाफा रकममध्येबाट सेयरधनीलाई प्रतिसेयर रु. ४० का दरले नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ। 

यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट एकजना सञ्चालक सदस्यको निर्वाचन कार्यक्रम समेत गर्नेछ । 

सभामा आर्थिक वर्ष २०७९-८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको  वासलात र सोही मितिमा समाप्त भएको आ.ब. २०७९-८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने लगायतका अजेण्डा समेत पेश हुनेछन् । 

साधारणसभा प्रयोजनका लागि पुस १९ गतेदेखि २९ गतेसम्म कम्पनीको सेयर दाखिल खारेजको काम बन्द गरिने सूचनामा उल्लेख छ । यसको अर्थ यो कम्पनीबाट घोषित लाभांश प्राप्त गर्न वा साधारणसभामा सहभागी बन्न पुस १८ गतेसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।