काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्रभु इन्स्योरेन्समाथि कारबाही गर्दै सेयर कारोबार रोक्का गरेको छ। 

नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै प्रभु इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरेको हो। नेप्सेले चित्तबुझ्दो स्पष्टीकरण ३ कार्यदिनभित्र पेस गर्न पनि निर्देशन दिएको छ। 

गत असार २७ गते बसेको प्रभु इन्स्योरेन्सको सञ्चालक समितिले हकप्रद सेयर जारी गर्नेसम्बन्धी निर्णय गरेको थियो। तर, कम्पनीले साउन ४ गतेमात्रै त्यसबारे नेप्सेमा सूचना पठाएको थियो। 

कुनै पनि संगठित संस्थाले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने हुन्छ। तर, प्रभु इन्स्योरेन्स ढिला गरी नेप्सेमा निर्णयसम्बन्धी पेस गरेको थियो। 

नेप्सेले के–कति कारणले समयमै जानकारी दिन नसकेको भन्नेबारे स्पष्टीकरण पेस गर्न कम्पनीलाई निर्देशन दिएको छ।