काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ।

बैंक सञ्चालक समितिको गत बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १२.६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश रहेका छन्।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति वा खरिद गर्नेसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

सभामा गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गरिनेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले आउँदो पुस ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस १ गते (पुस २ गते शुक्रबार र पुस ३ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।