काठमाण्डौ । प्राइम कमर्सियल बैंकको कामु सीईओमा सञ्जीव मानन्धर नियुक्त भएका छन्। 

बैंक सञ्चालक समितिको आज साउन १७ गते बसेको बैठकले सञ्जीव मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो। हाल उनी बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत छन्। 

बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल साउन १६ गतेबाट समाप्त भएको छ। 

अर्को व्यवस्था नभएसम्मका लागि बैंकका महाप्रबन्धक मानन्धरलाई कामु सीईओमा नियुक्त गरिएको कम्पनी सचिव राजकुमार कार्कीले जानकारी दिए। 

सञ्जीव मानन्धर स्थापनाकालदेखि नै प्राइम बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत थिए। मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ। तत्कालीन नेपाल इन्भेस्टमेन्ट बैंकबाट बैंकिङ क्यारियर सुरु गरेका चार्टर्ड अकाउन्टेन्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आबद्ध रही कार्य गरेका थिए। 

अवकाशप्राप्त नारायणदास मानन्धर प्राइम बैंकको स्थापनाकालदेखि अर्थात विगत १६ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत थिए। बिदाइ कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्राइम बैंकलाई नयाँ उचाइमा पुर्याउन नारायणदास मानन्धरको उल्लेख्य भूमिका रहेको धारणा राखे।