काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ८७ करोड बिमा शुल्क आर्जन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ४५ करोड मात्र बिमाशुल्क आर्जन गरेको थियो । यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा प्राइम लाइफले २८.५३ प्रतिशतले बिमाशुल्कतर्फको आम्दानी बढाएको छ । 

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय समेत बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा ४३ करोड ८५ लाखमा सीमित यस्तो आम्दानी बढेर ५५ करोड ६५ लाखको उचाईमा पुगेको छ । 

बिमालेखको धितोमा कर्जाबाट हुने आय १ करोड २७ लाखबाट बढेर ४ करोड ९५ लाख पुगेको छ । 

समीक्षा अवधिमा प्राइम लाइफले २७ करोड ३१ लाख दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो भुक्तानी १८ करोड ७८ लाखमा सीमित थियो ।

अघिल्लो वर्ष यही अवधिमा ५ अर्ब ९८ करोडमा सीमित जीवन बिमा कोषलाई ३६.१५ प्रतिशतले बढाएर गरी कम्पनीले ८ अर्ब १४ करोडको उचाईमा पुर्याएको छ भने ९४ करोड ८२ लाखमा सीमित जगेडा तथा कोषलाई बढाएर १ अर्ब ११ करोडको उचाई चुमाएको छ ।

यस्तै, ८ करोड ४९ लाखमा सीमित महाविपत्ति जगेडाको आकार बढाई १० करोड ८६ लाखको उचाई चुमाएको छ । 

अघिल्लो वर्षको यही अवधिमा २३ करोड ९८ लाखमा सीमित व्यवस्थापन खर्च बढेर यो वर्ष ३२ करोड माथि पुगेको देखिएको छ भने समीक्षा अवधिसम्म कम्पनीमा ४ लाख ९२ हजार २८६ बिमालेखको संख्या रहेको छ।

हालसम्म यो कम्पनीले १६ लाख ७३ हजार १३० बिमालेख जारी गरिसकेको रिपोर्टमा देखिएको छ ।

समीक्षा अवधिमा प्राइम लाइफले १६ करोड ३६ लाख खूद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा १४ करोड ३१लाख नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी १२.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६८.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.६२ गुणा कायम भएको छ।