काठमणडौ । आईपीओ भर्दा लाग्ने सी–आस्बा सेवा निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने आवाज उठिरहेकै बेला प्राइम कमर्सियल बैंकले भने सतप्रतिशत शुल्क वृद्धि गरेको छ।
प्राइम बैंकले एक सूचना प्रकाशित गरी सी–आस्बा शुल्क बढाइएको जानकारी गराएको हो। बैंकले गत साउन २५ गतेबाट सी–आस्बा शुल्क बढाएको छ।
यसअघि प्राइम बैंकले सी–आस्बा सेवाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो। अहिले बैंकले बढाएर यो सेवाको शुल्क २० रुपैयाँ पुर्याएको छ।
हाल वाणिज्य बैंकहरुमध्ये ४ वटाले मात्रै यो सेवा निःशुल्क उपलब्ध गराइरहेका छन्। यसरी निःशुल्क सी–आस्बा सेवा उपलब्ध गराउनेमा नबिल बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक र कुमारी बैंक छन्। अन्य सबै बैंकले १० रुपैयाँदेखि १०० रुपैयाँ सी–आस्बा शुल्क लिँदै आएको छ।
सबैभन्दा बढी सी–आस्बा शुल्क लिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको छ। यो बैंकले सी–आस्बा शुल्कबापत ग्राहकबाट १०० रुपैयाँ लिँदै आएको छ।
बैंकहरुले सी–आस्बा सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने सेयर लगानीकर्ताहरुले माग गर्दै आएका छन्। यही बेला प्राइम बैंकले सी–आस्बा सेवाको शुल्क सतप्रतिशत वृद्धि गरेपछि बैंकहरुको चर्को आलोचना हुन थालेको छ।
लगानीकर्ता मनीष दवाडीले प्राइम बैंकले सी–आस्बा सेवाको शुल्क बढाएमा आपत्ति जनाएका छन्। ‘हामीले यो सेवा निःशुल्क उपलब्ध गराउनुपर्छ भनिरहेका छौँ तर बैंकले सतप्रतिशत बढाएको छ, एकातिर आईपीओ पर्ने सम्भावना अहिले घट्दै गइरहेको छ अर्कोतिर सेयर नपर्दा पनि बैंकहरुलाई पैसा बुझाउनुपर्ने अवस्था छ’, उनले भने, ‘बैंकले यो कार्यले आमलगानीकर्ता मर्कामा परेका छन्।’
नेपाल धितोपत्र बोर्ड (सेबोन) एक अधिकारीले बैंकहरुले अधिकतम १०० रुपैयाँसम्म सी–आस्बा सेवाबापत ग्राहकबाट शुल्क लिन पाउने व्यवस्था रहेको बताए। ‘अधिकतम १०० रुपैयाँसम्म सी–आस्बा सेवाबापत शुल्क लिन पाउने भएकोले १० रुपैयाँबाट २० रुपैयाँ वा २० रुपैयाँबाट ३० रुपैयाँ बढाउँदा बैंकहरुले सेबोनसँग अनुमति लिइरहनु पर्दैन’, ती अधिकारीले भने, ‘बैंकहरु आफैँले घटाउन वा बढाउन पाउँछन् तर १०० रुपैयाँभन्दा माथि लिन पाइँदैन।’
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19