काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा एकाएक उत्साह देखियो । कारोबार रकम केही साताकै सर्वाधिक बन्यो भने बजार परिसूचकमा पनि उछालको अवस्था देखियो । तर, एकदिनअघिको यो उछाल र उत्साहपूर्ण ढंगले बढेको कारोबार रकम २४ घण्टा नबित्दै सुस्तायो । किन ? के कारणले यस्तो भएको होला ? 

आज दिनभरको बजारमा करिब ३७ अंकको उत्तारचढाव देखियो । नेप्से बढेर १९२६ अंकसम्म पुगेको बजार अन्तमा १९०० भन्दा तल आएर बन्द भयो । 

सोमबारको बजारलाई प्राविधिक रुपमा हेर्दा बोलिङ्गर ब्यान्डको अपरब्यान्डमा सुटिङ स्टार बनेको छ । यो आफैंमा अनिर्णयको संकेत हो । यसको आधारमा बजारको भविष्यवाणी कठीन हुन्छ । 

आगामी कारोबारमा बन्ने क्यान्डललाई यो क्यान्डलसँग मिलाएर हेर्दा भने कुनै अर्थ  निस्कन सक्छ । आगामी दिनमा बजार माथि नै जान्छ भन्नका लागि आजको उच्च विन्दु १९२६ भन्दा माथि बजार टिकेर  भोलुमसहित बन्द हुनुपर्ने हुन्छ । अर्थात आजको क्यान्डललाई ढाक्ने गरी बुलिस मारुबुजु क्यान्डल बन्नुपर्ने हुन्छ । 

यदि आगामी कारोबारमा आजको लो विन्दु १९९० भन्दा तल तल कारोबार हुन्छ र त्यो भन्दा तल बन्द हुन्छ भने आगामी दिनमा बजार पुनः साइडवेजमा पनि चल्न सक्छ भन्ने हो । आइतबारको बढोत्तरीमा सामान्य अंक मात्रै करेक्सन भएकोले आजकै बजारको अबस्थाबाट बजारको आगामी दिशाको विषयमा किटान गर्न सकिन्न । 

म्याक्डीमार्फत हेर्दा बजारमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआईबाट नियाल्दा बजारमा ५२ को तहमा अपट्रेन्डमा नै रहेको छ । समग्रमा तीनवटा इन्डिकेटरले बजार मजबुत नै रहेको मान्न सकिन्छ । 

 प्राविधिक रुपमा पनि  आजको बजारलाई हेर्दा नाफा बुक नै चलेको मान्न सकिन्छ । पिभटमार्फत अबको नजिकको सपोर्ट हेर्दा आज १८९६ मा बन्द भएको बजार  क्रमश: १८८३,१८६० र १८५० मा बलियो सपोर्ट लिनसक्छ भने बढेमा १९०६, १९४० र १९७५ मा क्रमशः प्रतिरोधको सामना गर्नसक्छ । 

(सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।)