काठमाण्डौ । सेयर ब्रोकरहरुले तोकिएको मार्जिन सीमा कायम गर्नुपर्ने अवस्थामा लगानीकर्ताहरुको अनुमतिबिना पनि उनीहरुको खातामा रहेको सेयरहरु बिक्री गर्न पाउने भएका छन्। 

नेपाल स्टक एक्सचेञ्जले लागू गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि प्रथम संसोधन २०७७ मा यस्तो व्यवस्था गरिएको हो। 

मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २० प्रतिशतभन्दा कम हुन आएमा दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नसक्ने व्यवस्था गरिएको छ। 

मार्जिन कल गरेको दोश्रो कार्यदिनभित्र सम्बन्धित लगानीकर्ताले नगद वा मार्जिन कारोबारयोग्य धितोपत्रहरु जम्मा गरी वास्तविक मार्जिन २० प्रतिशतभन्दा माथि कायम गर्नुपर्नेछ। 

मार्जिन कल गरेको तेश्रो कार्यदिनभित्र सम्बन्धित लगानीकर्ताले वास्तविक मार्जिन २० प्रतिशतभन्दा माथि नपुर्याएमा वा मार्जिन खाता अन्तर्गतका धितोपत्रहरुको बजार मूल्यमा आएको परिवर्तनले सो मार्जिन २० प्रतिशतभन्दा माथि कायम हुन नसकेमा सदस्य दलाल व्यवसायीले चौथो दिनमा वास्तविक मार्जिन २० प्रतिशतभन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तर्गतका कुनै पनि धितोपत्र बिक्री गर्नसक्ने व्यवस्था गरिएको हो। 

तर, कार्यविधिका दफा र उपदफामा जुनसुकै कुरा लेखिएता पनि मार्जिन कल गरेपश्चात कुनै पनि समयमा मार्जिन खातामा लगानीकर्ताको वास्तविक मार्जिन १५ प्रतिशत वा सोभन्दा तल आएमा सदस्य दलाल व्यवसायीले  लगानीकर्ताको मार्जिन खातामा वास्तविक मार्जिन २० प्रतिशतभन्दा माथि कायम गर्न आवश्यक पर्ने धितोपत्र बिक्री गर्नसक्ने व्यवस्था गरिएको छ। यसरी धितोपत्र बिक्री गर्दा लगानीकर्ताको अनुमति समेत लिनु नपर्ने व्यवस्था गरिएको हो। 

यस्तै, सम्भार मार्जिनभन्दा वास्तविक मार्जिन कम हुन आएमा ७ कार्यदिनको समय दिई वास्तविक मार्जिन सम्भार मार्जिनभन्दा माथि कायम गर्न सदस्य दलाल व्यवसायीले निश्चित प्रतिशत मार्जिन कल गर्नसक्नेछ। ७ कार्यदिनमा व्यवसायीले तोकेको सम्भार मार्जिन कायम गर्न नसकेमा आठौ कार्यदिनपश्चात वा खाता बन्द हुनुभन्दा ५ दिन अगावै वास्तविक मार्जिन सम्भार मार्जिनभन्दा माथि कायम गर्नका लागि आवश्यक पर्ने मार्जिन खाता अन्तरगतका कुनै पनि धितोपत्रहरु बिक्री गर्न सक्नेछ। यस प्रयोजनका लागि व्यवसायीले तोकेको मार्जिनका कारणले वा सोही अवधिमा बजार घट्न गई वास्तविक मार्जिन १५ प्रतिशतभन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले वास्तविक मार्जिन २० प्रतिशतभन्दा बढी कायम गर्न लगानीकर्ताको अनुमतिबेगर नै धितोपत्रहरु बिक्री गर्नसक्नेछ। 

मार्जिन खाता अन्तरगत रहेका धितोपत्रहरुको कारोबार मर्जर, एक्वीजिसन, वा अन्य कुनै कारणले बन्द भएको अवस्थामा यो धितोपत्र समावेश भएको समूहगत परिसूचक १५ प्रतिशतभन्दा धेरैले घटेमा सम्बन्धित लगानीकर्तालाई ७ दिनको समय दिई उक्त धितोपत्र बापतको मार्जिन ऋण वा सोसँग सम्बन्धित अन्य दायीत्व चुक्ता गर्न सदस्य दलाल व्यवसायीले सूचित गर्नसक्ने व्यवस्था समेत संसोधित कार्यविधिमा गरिएको छ।

यस्तो छ नेप्सेले लागू गरेको ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि (प्रथम संशोधन), २०७७–