काठमाण्डौ । सेयर बजारमा २ वर्षपछि सकारात्मक सर्किट लागेको छ । 

आज कारोबार खुलेदेखि नै नेप्से परिसूचक उछालको गतिमा बढ्न थालेको थियो । कारोबार सुरु भएको ५ मिनेटमै बजार ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लगाइएको थियो । 

केहीबेर स्थगनपछि खुलेको बजार पुनः ५ प्रतिशतले बढेपछि दोश्रो सर्किट लगाएर हाल ४० मिनेटका लागि कारोबार स्थगित गरिएको छ । 

अब पुनः उछालको गतिमा बढेर ६ प्रतिशतले नेप्से परिसूचक बढ्यो भने आजको बाँकी रहेको अवधिको सम्पूर्ण कारोबार स्थगन गरिनेछ । 

लामो समयको अन्तरालपछि बजार बुम हुँदा लगानीकर्तामा खुशियाली छाएको छ । 

बजार बुम हुँदा मुख्य रुपमा हाइड्रोपावर र पर्यटन समूहको उपसूचकमा उछालको अवस्था देखिएको छ । दोश्रो सर्किट लाग्दासम्म जलविद्युत समूहमा ७.१३ प्रतिशतको उछाल देखिएको छ । 

यस्तै, होटल तथा पर्यटन समूहमा ६.०७ प्रतिशतको उछाल देखिएको छ । 

बैंकिङ समूह, विकास बैंक र वित्त समूहमा क्रमशः ४.८२, ४.५० र ४.४४ प्रतिशतको उछाल देखिएको छ । 

यस्तै, जीवन र निर्जीवन बीमा समूहमा क्रमशः ५.०६ र ४.५० प्रतिशतको बढोत्तरी देखिएको छ । 

इन्भेष्टमेन्ट समूहमा ५.१८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ४.५४ प्रतिशतको उछाल आएको छ । 

छोटो अवधि कारोबार भएको बजारमा २९ करोड बढीको कारोबार भएको छ । 

नेप्से परिसूचक ९२.७३ अंकले बढेर १९४५.५१ को उचाईमा पुगेको छ ।