काठमाण्डौ । सेयर बजारमा बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा उक्लिएको छ। 

आज नेपाल टेलिकमको कुल बजार पुँजीकरण २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ। योसँगै नेपाल टेलिकम बजार पुँजीकरणका हिसाबले सबैभन्दा ठूलो कम्पनी बनेको छ। 

नेप्सेमा १५ करोड कित्ता सूचीकृत रहेको यो कम्पनीको आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ४८४ रुपैयाँ पुगेको छ। आजमात्रै यो कम्पनीको सेयरभाउ १९ रुपैयाँले उकालो लागेको छ।

बजार पुँजीकरणको हिसाबले दोस्रो नम्बरमा नबिल बैंक रहेको छ। नबिल बैंकको कुल बजार पुँजीकरण २ खर्ब १२ करोड रुपैयाँ रहेको छ। 

नेप्सेमा १३ करोड ८४ लाख कित्ता बढी सेयर सूचीकृत नबिलको आजको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १ हजार ५३८ रुपैयाँ कायम भएको छ। आज यो बैंकको सेयरभाउ ७ रुपैयाँले ओरालो लागेको छ। 

बजार पुँजीकरणका हिसाबले नेपाल पुनर्बीमा कम्पनी तेस्रो स्थानमा रहेको छ। यो कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ। 

यसैगरी चौथो स्थानमा कुल बजार पुँजीकरण १ खर्ब १० अर्बसहित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ भने १ खर्ब ७ अर्ब रुपैयाँको कुल बजार पुँजीकरणसहित नागरिक लगानी कोष पाँचौँ स्थानमा छ।