काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा पुँजीबजारमा जलविद्युत कम्पनीहरुको बजार पुँजीकरणको हिस्सा ३ प्रतिशतले बढेको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको छ। समीक्षा अवधिसम्म जलविद्युत कम्पनीहरुको बजार पुँजीकरणको हिस्सा १४.३ प्रतिशत रहेको थियो। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म जलविद्युत कम्पनीहरुको बजार पुँजीकरणको हिस्सा ११ प्रतिशत थियो। 

पछिल्लो ११ महिनामा जारी भएका आईपीओमध्ये धेरैजसो जलविद्युत कम्पनीका छन्। तीमध्ये धेरैजसोको आईपीओ नेप्सेमा सूचीकृतमध्ये धितोपत्र दोस्रो बजारमा कारोबार भइरहेका छन्। 

ठूलो संख्यामा जलविद्युत कम्पनीहरुका आईपीओ जारी गरेर दोस्रो बजारमा कारोबारमा आउनुले पनि यो समूहको बजार पुँजीकरण हिस्सा बढेको हो। 

समीक्षा अवधिसम्म नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको बजार पुँजीकरणको हिस्सा भने घटेर ६२.८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको बजार पुँजीकरणको हिस्सा ६७.३ प्रतिशत थियो। 

यसैगरी बजार पुँजीकरणको हिस्सामा लगानी कम्पनीको ७.२ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ४ं.४ प्रतिशत, होटेलको २ं.९ प्रतिशत, व्यापारिक संस्थाको ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको ८.० प्रतिशत रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म लगानी कम्पनीको ६.९ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.३ प्रतिशत, होटेलको हिस्सा १.६ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.४ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.५ प्रतिशत थियो।

२०८० जेठ मसान्तमा धितोपत्र बजार पँुजीकरण रु. २९ खर्ब ८६ अर्ब २० करोड कायम भएको छ। २०७९ असार मसान्तमा धितोपत्र बजार पँुजीकरण रु. २८ खर्ब ६९ अर्ब ३४ करोड कायम भएको छ।