-अर्जुन तिमिल्सिना/अनन्त्य सुन्दर
काठमाण्डौ ।  आर्थिक वर्ष २०७९/८० को बजेट सकारात्मक रहेको सेयर ब्रोकरहरुले प्रतिक्रिया दिएका छन् । 

विगतका तुलनामा बजेटमा धेरै विषयहरू समेटिएको उनीहरूको भनाइ छ।

आज अर्थमन्त्री जनार्दन शर्माले आ.ब. २०७९\८० बजेट संसदमा प्रस्तुत गरेका छन्। १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेटमा कृषि, पर्यटन, उत्पादन, शिक्षा, स्वस्वास्थ्य, पुँजी बजार लगायत विविध क्षेत्रहरू समेटिएको छ।

बजेटमा पुँजी बजारको के के विषयहरू समेटिएका छन् ? बजेट समग्र बजारका लागि कस्तो आयो ? यही विषयमा हामीले केही ब्रोकर र पूँजी बजारका अगुवा केही लगानीकर्तालाई सोधेका थियौं:

कोहिनुर सेक्युरिटिजका सञ्चालक भरत रानाभाट बजारलाई बजेटबाट भन्दा पनि मौद्रिक नीतिबाट धेरै अपेक्षा हुने बताउँछन्।'बजारले बजेटबाट अपेक्षा गरेको मुख्य कुरा पुँजीगत लाभ कर हो। पुँजीगत लाभ कर बारे अनुसूची हेरेर मात्र भन्न सकिन्छ।' रानाभाट भन्छन्-'त्यसबाहेक गैर आवासीय नेपालीलाई दोस्रो बजारमा आकर्षित गर्ने, वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई आइपीओमा १० प्रतिशत आरक्षण जस्ता विषयले बजेटको सुरुवात एकदमै राम्रो भएको छ।'

एसियन सेक्युरिटिजका सञ्चालक राजकुमार खत्री बजेट विगतको तुलनामा राम्रो आएको बताउँछन्। 'एनआरएनलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण सृजना गर्ने, वैदेशिक रोजगारीमा गएकाहरूलाई आइपिओमा कोटा लगायतको विषय सकारात्मक छन्', खत्री भन्छन्, -'उक्त विषय विगतका बजेटहरूमा पनि समेटिएका हुन्। त्यसैले बजेटमा उल्लेख गरिएको विषयहरूको कार्यान्वयन हुन्छ या हुँदैन भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ ।’

कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिजापति बजेटले पुँजी बजारलाई विषयगत रूपमा विगतमा भन्दा धेरै विषयमा सम्बोधन गरेको बताउँछन्। 'विगतको तुलनामा बजेट राम्रो छ। तर अर्थतन्त्र सङ्कट उन्मुख हुनुका साथै सेयर बजारका लगानीकर्ताहरू निराश भएको बेला समेटिन सकिन विषयवस्तु धेरै थिए' सिजापति भन्छन्, 'तर उक्त विषयहरू बजेटमा नसमेटिएको देखिन्छ।'
 

बजेटमा पुराना विषय नै बढी समेटिएको लगानीकर्ताका अगुवाहरू बताउँछन्। बजार विकास र विस्तारका लागि आवश्यक विषयहरू नसमेटिएको उनीहरूको गुनासो छ।  

पुँजी बजार र विकासको लागि आवश्यक विषयहरू समेटिएर बजेट आएन' नेपाल ईन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्-'एनआरएनको विषय विगतका बजेटहरूमा पनि समेटिएको थियो। त्यसैले बजेट हात्ती आयो हात्ती आयो फुस्स जस्तो मात्रै भयो।'

'यसपटकको बजेटमा थप भनेको वैदेशिक रोजगारीमा गएकाहरूलाई आईपिओमा कोटा दिइने भन्ने मात्र छ', उनले भने।

नेपाल पुँजी बजार सङ्घकी अध्यक्ष राधा पोख्रेल बजेटमा पुरानै विषयहरूलाई निरन्तरता दिइएको बताउँछिन्।'बजेटमा पुँजी बजारमा लगानीकर्ताका अपेक्षाकृत विषय र समस्यालाई लिएर केही समावेश हुनसकेको छैन' पोख्रेल भन्छिन्-'त्यसैले प्रत्यक्ष रूपमा बजारलाई छुने केही कुरा नहुँदा यसपालिको बजेट पनि पुँजी बजारका लगानीकर्ताहरूका लागि हर्ष न बिस्मात भएको छ।'

सेयर लगानीकर्ता दबाब समूहका महासचिव नयन बास्तोला २०७९ ८०को बजेट सकारात्मक आएको बताउँछन्। 'यसपटकको बजेटमा कृषि, पर्यटन, उत्पादन लगायतका सबै विषयहरू समेटिएको छ' उनले भने।

'पुँजीगत करको दायरा भने हेर्न बाँकी छ' बास्तोला भन्छन्-'त्यस बाहेक एनआरएनलाई दोस्रो बजारमा भित्र्याउने, भेन्चर क्यापिटल, ५ अर्ब कारोबार गर्ने कम्पनीहरूको अनिवार्य आइपीओ निष्कासन, नेपाल विद्युत् प्राधिकरणको आइपिओ निष्कासन लगायतका विषयहरू सकारात्मक रहेका बताए। बजेटमा समेटिएका विषयहरुको कार्यान्वयन पक्ष मजबुत हुन सकेको खण्डमा ठीकै रहेको उनको भनाई छ । 

बजार जानकार मुक्ति अर्यालले आजको बजेट चुनाबी बजेट भएको प्रतिक्रिया दिए । ‘मुख्य रुपमा बजेट कर्मकाण्डी मात्रै देखिन्छ । केही पक्ष राम्रो पनि छन्, महत्वपूर्ण विषय कार्यान्वयन कस्तो हुन्छ भन्ने हो ।’ उनले भने–‘जस्तो लघुबित्तले सहुलियत कर्जा दिने भनिएको छ, विद्युत प्रधिकरणको प्रथामकि सेयर निस्कासन तथा बिदेशमा रहेकाहरुलाई प्रथामिक सेयरमा १० प्रतिशत आरक्षणका व्यवस्था राम्रै हुन सक्छन्।’

बीमा कम्पनीले पूर्वाधारमा लगानी गर्नुपर्ने व्यवस्था पनि ठीकै रहेको अर्याल बताउँछन् । ‘तर धेरै लगानीकर्ताले आशा गरेको करको बिषय हो ।’ उनले थपे–‘ सरकारले आयकरमा छुट दिएको देखिन्छ । बजेट नराम्रो नै भन्न मिल्दैन, सबैलाई खुसी पार्ने खालको देखिन्छ ।’

बजार जानकार रामप्रसाद घिमिरे पनि बजेट सामान्य नै रहेको बताउँछन् । धेरै लगानीकर्ताले आशा गरेअनुसार पूँजीबजारका लागि खासै महत्वपूर्ण कुराहरु केही पनि नआएका उनको भनाई छ । ‘बजेटबाट उत्साहित हुनुपर्ने वा निरुत्साहित भइहाल्नुपर्ने अवस्था देखिन्न ।’–उनले थपे ।