काठमाण्डौ । नेप्से परिसूचकमा निरन्तर देखिएको गिरावटलाई कोरोनासँग दाँजेर बजारलाई थप धरासायी बनाउने षड्यन्त्रविरुद्ध नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा हल्लाका पछाडि नलागी निर्धक्क लगानी गर्न आग्रह गरेको छ।
पछिल्लो तीन सातामा नेप्से परिसूचकमा अस्वभाविक ढंगले ४०० अंकको गिरावट देखिएपछि लगानीकर्ताहरुलाई बजारप्रति विश्वासको वातावरण जगाउन र मनोबल बढाउन बोर्डले सम्बोधन गरेको हो।
बोर्डले आज बुधबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा केही दिनयता धितोपत्र दोस्रो बजारको कारोबार सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले दोस्रो बजार प्राकृतिक रुपमा चल्न दिनुपर्छ भन्ने मान्यता राख्दै बजारको अवस्थालाई निकै गम्भीर भई सूक्ष्म रुपले अध्ययन गरिरहेको उल्लेख गरेको छ।
पछिल्लो समय बजारलाई कोरोना भाइरससँग जोडेर बजारप्रति नकारात्मक हल्लाहरु फैलाउने कार्य भइरहेकोप्रति इंगित गर्दै बोर्डले नेपालमा कोरोनाको प्रकोप नदेखिएको र सरकारले रोकथामका लागि पूर्वसावधानीका साथ विभिन्न चालिरहेको स्पष्ट पारेको छ।
यसैबीच बजार विकासका लागि बोर्डले सुधारका विभिन्न कार्यहरु अगाडि बढाइरहेको र देशको समष्टिगत आर्थिक अवस्था तथा समग्र सूचीकृत कम्पनीहरुको वित्तीय अवस्थासमेत सन्तोषजनक रहेको दाबी गरेको छ। यस किसिमको सामान्य अवस्था रहँदारहँदै हतोत्साहित भई हतारहतारमा धितोपत्र बिक्रीसम्बन्धी निर्णय लिनुपर्ने अवस्था नरहेको बोर्डले लगानीकर्ताहरुलाई सचेत गराएको छ।
धितोपत्र खरिदबिक्रीमा लगानी गर्दा लगानीकर्ताले कम्पनीका बारे विस्तृत रुपमा सुझबुझ तवरले लगानीसम्बन्धी निर्णय लिन पनि बोर्डले अनुरोध गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago