काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्वन्धमा न्यायोचित समाधान खोज्न सम्वन्धित पक्षसँग आग्रह गरेको छ । 

लोडसेडिङको समयमा केही उद्योगमा जडित  डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलबारे विद्युत् प्राधिरण र उद्योगी बीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायमैत्री वातावरणमा असर गर्ने चेम्बरले उल्लेख गरेको छ ।

चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल विद्युत् प्राधिकरण र व्यवसायी बीच पछिल्लो समय देखिएको मतभिन्नताप्रति ध्यानाकर्षण भएको छ, उद्योगमैत्री वातावरण र लगानीम समेत यसले असर गर्ने निश्चित छ ।’

प्राधिकरण र उद्योगी बीच समस्या समाधान नभए यसले रोजगारी र राजस्व संकलनमा समेत असर गर्ने चेम्बरको ठहर छ । महसुल सम्वन्धमा न्यायोजित समाधान खोज्न वित्तीय र प्राविधीक सहितको छानविन समिति बनाउन पनि चेम्बरले आग्रह गरेको छ ।

लगानी र व्यवसायमैत्री वातावरण सृजना गर्नका लागि सरकार र निजीक्षेत्र दुबैको उत्तिकै भूमिका भएकाले न्यायोचित समाधान गरेर अघि बढ्न चेम्बरले सम्वन्धित पक्षको ध्यानाकर्षण गराएको हो ।

लामो समयदेखि शिथिलताबाट गुज्रदै आएको अर्थतन्त्रलाई निकास दिनुको विकल्प नभएको यथार्थका बीच तत्काल समाधान खोज्न र विवाद थप अघि नबढाउन पनि उसले भनेको छ ।

डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल नतिरेको भन्दै प्राधिकरणले पछिल्लो समय करिब एक दर्जन उद्योगको लाइन काटेको छ ।

निक्षी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग परिसंघले यसअघि नै प्राधिकरणको उक्त कदमको विरोध गरिसकेका छन् ।