-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । अहिले महंगीले बजार भाऊ अचाक्ली बढेको छ ।  त्यसमाथि आर्थिकमन्दीले जनताको ढाड नै सेकेको छ ।

बहुदल ठाकूर त्यस्ता व्यक्ति हुन् जसले २०५८ सालदेखि पोखराको ग्रैहपाटनस्थित ( कास्की प्रहरी कार्यालय ) अगाडी शटर भाडामा लिएर ७० रुपैयाँमा जो सुकैको पनि कपाल काटेर सेवा दिन्छन् । उनले असक्त र अपांगलाई भने नि : शुल्क रुपमा कपाल र दाह्री काटिदिने गरेका छन् ।
युवा अवस्थामा जम्मा १० रुपियाँमा कपाल काटेका ठाकूरले अहिले ७० रुपैयाँमा कपाल काटिदिन्छन् भने ५
रुपैयाँमा नै दाह्री काटिदिन्छन् । जवकि नेपाल नाई संघले प्रतिव्यक्ति कपाल काटेको मूल्य १५० रुपियाँ तोकेको छ । शटर भाडामा लिएर पनि यसरी कपाल काटिदिनु देश र जनताको लागि आफूले सेवा गरेको ठाकुर बताउँछन् ।

समाज सेवामार्फत् पोखरामा आफ्नो छुट्टै पहिचान बनाएका ठाकूरले पटकपटक राजा ज्ञानेन्द्र र राजा बीरेन्द्रसँग भेटघाट गर्ने मौका पाएका थिए । उनी भन्छन्, ‘दुःख गरेर पनि आफूलाई यति पारिश्रमिकले प्रशस्तै  पुगेको छ ।’
उनले जनताको सेवा गर्ने सेवकलाई राज्यले भने सँधै पाखा लगाएको बताए ।
‘हामीलाई नगरपालिकाले शटर उपलब्ध गराइदिनु पर्ने थियो तर त्यस्तो गरिएन’, उनले भने । उनले आफूले शान्ति र न्यायको लागि पसलमा लालटीन राखेको बताए । 

देश र जनताको सेवा गर्न पाएकोमा आफू निकै गौरवान्वित रहेको पनि उनको भनाइ छ ।