काठमाण्डौ । बाली पाक्नै लाग्दा अर्थात लगानी गरेको सेयरले लाभांश दिनै लाग्दा बजार घटाउने खेल सुरु भएको छ । नियामक निकायका कर्मचारीहरुको समेत संलग्नतामा केही गिरोहले सुनियोजित रुपमा खेल खेल्दा गुल्जार हुनुपर्ने समयमा बजार डरलाग्दो गरी घट्न थालेको छ । यस्तै, खेलका कारण बजार घट्ने ठूला धेरै कारण नहुँदा नहुँदै बुधबार नेप्से परिसूचक १४.५५ अंकले घटेर १५९८.३६ को विन्दूमा झरेको छ । लामो समयदेखि १६ सय माथि नै रहेको बजार नाप्ने परिसूचक १५ सयको स्तरमा झरेपछि साना र सोझा लगानीकर्ता अत्तालिएका छन् । 

बजारमा अनेक हल्ला फैलाएर घटाई सस्तोमा सेयर किन्ने धेरैवटा गिरोह वर्षौदेखि सक्रिय छ । यस्तो गिरोहले नियामकका कतिपय अधिकारीहरुसँगको मिलेमतोमा इन्साइडर ट्रेडिङको धन्दा लगायत बजारलाई चाहेको समयमा घटाउने र बढाउने खेल खेल्दै आएको छ । खेलाडीहरुको यस्तै खेलका कारण मनोवैज्ञानिक त्रास उत्पन्न गराई बजार घटाउने र गत आर्थिक वर्षको नाफाबाट धमाधम लाभांश घोषणा भई नाफा बुक गर्ने समयमा सोझालाई अत्याएर आफैं मात्र उक्सिने गतिविधि बजारमा हुन थालेका छन् । बुधबारको बजारको गिरावटलाई समेत विश्लेषकहरुले खेलाडीहरुको चलखेलबाट निस्किएको परिणाम भनेका छन् । यसकारण लगानीकर्ताहरु नअत्तालिई थप चनाखो बन्ने अवस्था छ । 

बजार घट्ने अन्य कारण
बुधबार बजार परिसूचक(नेप्से) दोहोरो अंकले घटे पनि कारोबार रकम चाहि मंगलबारको भन्दा बढेर ९७ करोड ८३ लाखको उचाईमा पुुगेको छ । यसको अर्थ बजार सकेसम्म घटाएर त्यही मौकामा सेयर खरीद गर्ने गिरोहहरुको सक्रियतालाई सहजै आँकलन गर्न सकिन्छ । 

बजार घट्ने अर्को मुख्य कारण नियामक निकायका कर्मचारीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीको हतारो पनि रहेको एक विश्लेषक दाबी गर्छन् । उनका अनुसार नियामक निकायका कर्मचारीहरुले आचारसंहिता र नियम विपरीत दोश्रो बजारमा लगानी गरिरहेका र नियम छल्दै सेयर खेलिरहेका खबर बाहिर आएसँगै संभावित छानबिनको डरबाट अत्तालिएर सेयर बिक्रीको क्रमलाई बढाएका छन् । यो कारण समेत बुधबारको बजारमा दोहोरो अंकको गिरावट देखिएको बताइएको छ । 

अर्कोतर्फ, पछिल्लो समय हकप्रद, बोनस र सार्वजनिक निश्कासन लगायतका कारणले सेयरको आपूर्ति बढ्दो छ । लामो समयदेखि सेयर सूचिकृत नहुँदा समय पर्खिएर बसेकाहरुले समेत यो बेला केही मात्रामा भए पनि सेयर बिक्रीलाई बढाएका छन् । यसले समेत बजार घट्न केही मद्धत पुुगेको विश्लेषण हुन थालेको छ । 

मुख्य रुपमा साना, नयाँ र सोझा लगानीकर्ता पछिल्लो समय बजार घट्दै गएपछि बढी अत्तालिएका छन् । चलखेल गर्न माहिर कतिपय ठूला र पुराना लगानीकर्ताले फैलाएको हल्ला पछि लाग्दा समेत धेरैले सेयर बिक्रीको हतारो देखाएका छन् । यसले समेत बजार घटाउन थप सहयोग गरेको दाबी गरिएको छ । बाली उठाउने बेलामा यस्तो आत्मघाती काम लगानीकर्ताले गर्नै नहुने सेयर बजारका जानकारहरु बताउँछन् । 

यी मुख्य कारणबाहेक बजार यो समयमा घट्नैपर्ने अन्य कारण छैनन् । बजार बढ्नुुपर्ने सिजनमा समेत निरन्तर बजार घटेपछि कम ज्ञान भएकाहरु बढी अत्तालिएका देखिएको छ । बजार अझै घट्ने त्रासका कारण कतिपयले बाली उठाउने मुखैमा समेत अत्तालिएर सेयर बिक्री गरिरहेका छन् । यस्तो आत्मघाती कदम नचाल्न र नियोजित रुपमा घटाइएको बजारमा धैर्यता प्रदर्र्शन गर्न विज्ञहरुले लगानीकर्तालाई सुुझाव दिएका छन् । 

बुधबार के–के भयो बजारमा ?
यो दिन बजारमा उत्पादनमूलक र अन्य बाहेक सबै समूहको सूचकमा गिरावट देखियो । बैकिङ र बिमा समूह क्रमशः १६.७७ र १०६.२६ अंकले घटे । यस्तै, विकास बैंक, होटल, बित्त, जलविद्युत समूहमा क्रमशः ३.७६, २२.७३, ७.०८ र २१.२९ अंकको गिरावट आयो । उत्पादनमूलक भने १२.३९ अंक र अन्य समूह २.०३ अंकले बढे । 

‘क’ वर्गका कम्पनीको कारोबारमा पहिरो जाँदा सेन्सेटिभ इण्डेक्स ३.३७ अंक तथा समग्र कारोबार मापक फ्लोट इण्डेक्स समेत १.२६ अंकले घटे । 

यो दिन सबैभन्दा बढी छिमेक लघुवित्त विकास बैंकले ६ करोड ५५ लाख बढीको कारोबार गर्यो । गुराँस लाइफ इन्स्योरेन्सको ४ करोड ८७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा एनआइसी एशिया बैंकले ३ करोड ९७ लाख बढीको कारोबार गर्यो । 

यो दिन प्राइम कमर्सियल बैंकका संस्थापक सेयरधनीले धेरै कमाए । यो बैंकको संस्थापक सेयरको मूल्य ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो । यस्तै, सिद्धार्थ ओरिएन्टेड स्कीमको मूल्य १० प्रतिशतले घट्नपुुग्यो ।