काठमाण्डौ । बिक्रीको निरन्तर चापले पूँजीबजारमा दैनिक भइरहेको गिरावटसँगै बुधबार कारोबार रकमतर्फ पहिरो गएको छ ।

मंगलबारको तुलनामा कारोबार रकम ३९ करोड भन्दा बढीले घटेको हो । बजारमा नाफा सुरक्षित गर्नका लागि बाठा लगानीकर्ताले धमाधम सेयर बिक्री गर्ने क्रम बढेर गएपछि इण्डेक्ससँगै कारोबार रकमतर्फ पनि राम्रै पहिरो गएको हो । 

बुधबार नेप्से परिसूचक ७.३७ अंकले घटी १७७९.१३ मा ओर्लिएको छ । लगभग सबै समूहमा रातो पोतियो । विकास बैंक र अन्य समूह क्रमशः ०.६३ र ०.२९ को झिनो अंकले मात्र उक्लिए । 

बिमा समूह ३४.३३ अंकले घट्यो भने उत्पादनमूलक ४९.८७, जलविद्युत २०.१७ अंकले झरे । वाणिज्य बैंकमा ८.३९ अंकको गिरावट आयो भने होटल ११.६३ र बित्त समूह १.२ अंकले घटे । 

सेन्सेटिभ इण्डेक्स १.७४ र फ्लोट इण्डेक्स ०.५२ अंकले घटे । 

बुधबार कुल १ सय ४२ कम्पनीका २२ लाख १९ हजार ४ सय २ कित्ता सेयर ९४ करोड ९६ लाख १२ हजार रुपैयाँमा किनबेच भयो । बुधबार नवील बैंक र एनआइसी बैंकको बुक क्लोजको मिति तय हुँदा सेयरमा अचाक्ली आकर्षण बढी कारोबार रकम ह्वात्तै बढेको थियो । मंगलबार कुल कारोबार १ अर्ब ३४ करोड माथि उक्लिएकोमा एक दिनपछि नै कारोबार ३९ करोडले घटेको हो । 

धेरै कारोबार गर्ने कम्पनी
बुधबार सबैभन्दा धेरै सनराइज बैंकको ५ करोड ७१ लाखको कारोबार भयो । यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सले ५ करोड २० लाख, एनबी बैंकले ४ करोड ३७ लाख, सिद्धार्थ बैंकले ४ करोड २९ लाख, सिटिजन्स बैंकले ४ करोड २८ लाख, सानिमा बैंकले ३ करोड ८६ लाख, एभरेष्ट बैंकले २ करोड ८२ लाख, एनएमबी बैंकले २ करोड ५२ लाखको कारोबार गरे । कृषि विकास बैंकले २ करोड २६ लाखको कारोबार गर्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३४ लाखको प्रोमोटर सेयर किनबेच भयो ।

धेरै कमाउने र गुमाउने
बुधबार सबैभन्दा धेरै रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य बढेको छ । यो कम्पनीको सेयर मूल्यमा ७.०८ प्रतिशतले वृद्धि भयो । यसैगरी, आइएलएफसीओ माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य ५.२५ प्रतिशतले बढ्यो । नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले ४ प्रतिशत भन्दा बढीले आफ्नो सम्पत्ति बढाए । 

बुधबार सबैभन्दा धेरै नवील ब्यालेन्स फण्ड-१ का लगानीकर्ताले गुमाउनुपर्यो । यो म्युचुअल फण्डको सेयर मूल्य १० प्रतिशतले घट्यो । 

सेती फाइनान्सका लगानीकर्ताले करिब ८ प्रतिशतले सम्पत्ति गुमाउनु  पर्यो भने एक्सल डेभलपमेन्ट बैंकको प्रोमोटर सेयरको मूल्य ७.४१ प्रतिशतले घट्यो ।