काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो ३० औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल १२.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश (करसहित ) छन्। 

बोनस सेयर जारीपछि जारीपुँजी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

सभाले सर्वसाधारण समूहबाट एक महिलासहित ३ सञ्चालकको निर्वाचन गर्नेछ। 

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ। 

लाभांश र सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेको अघिल्लो दिनसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।