काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सबल रुपमा नियमन गर्न नसक्दा अहिले समस्या उत्पन्न भएको बताएका छन्। 

‘बैंकको कर्जा अर्थतन्त्रमा योगदान पुर्याउने खास–खासमा क्षेत्रमा प्राथमिकताका आधारमा प्रवाह हुनुपर्छ’, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै श्रेष्ठले भने, ‘तर, कोराना समयमा कर्जा प्रवाह नहुँदा बैंकले उद्योगी–व्यवसायीलाई विना योजना सस्तो ब्याजदरमा ऋण दियो तर तत्कालीन समयमा हचुवाको भरमा लिएको ऋण सदुपयोग नहुँदा अहिले समस्या देखिएको छ।’

विशेषगरी नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कामलाई नियमन नगर्दा अहिले समस्या निम्तिएको समेत श्रेष्ठको भनाइ थियो। ‘राष्ट्र बैंक नियामक निकाय भएपछि बैंक तथा वित्तीय संस्थाले के–कस्ता क्षेत्रमा कर्जा प्रबाह गरिरहेका छन् भनेर नियमन गर्नुपर्दथ्यो’, उनले भने, ‘कोभिडको समयमा बैंकमा निक्षेप थुप्रिँदा बैंकका कर्मचारीले घर–घरमा पुगेर कर्जा दिए तर त्यो कर्जा केका लागि दिइयो भनेर कसैले अनुगमन गरेनन्।’ 

कोरोनापछि बैंकले गरेको लगानीका सही सदुपयोग नहुँदा देशमा उद्योग–कलकारखाना धरासायी बन्न पुगेको समेत श्रेष्ठले बताए। अहिले देशमा आर्थिक मन्दीका कारण समस्या आएको भन्दै उनले सो विषयमा गहन अध्ययन हुनुपर्नेमा जोड दिए। ‘नेपाल राष्ट्र बैंकको अकर्मण्यता र सरकारको अदूरदृष्टिको मार अहिले उद्योगी–व्यवसायीले भोग्नुपरेको छ’, उनले भने, ‘हामीले कृषि क्षेत्रलाई उकास्न सहुलियतपूर्ण कर्जा दियौँ तर त्यसको अर्थतन्त्रमा के–कति योगदान भयो ? यस विषयमा सरकारले अध्ययन अनुसन्धान गर्नुपर्छ कि पर्दैन ?’

यसैगरी समयको माग र साथीहरुको आग्रहअनुरुप पुनः महासंघको वरिष्ठ उपाध्यक्ष दाबेदारी गरेर चुनावी मैदानमा आएको श्रेष्ठले बताए। अब हुने निर्वाचनमा सहयोग गर्न आग्रह गर्दै उनले भने, ‘म महासंघमा विगत ३० वर्षदेखि लागिरहेको छु भने यसअघि उपाध्यक्षमा चुनाव हारेपछि पनि जिल्ला नगरको समस्या बुझ्न प्रायजसो सबै जिल्लाको भ्रमण गरे भने विभिन्न बस्तुगत संघसँग पनि छलफल गरेँ। अहिले पनि जिल्ला नगरका समस्या उस्तै छ। तसर्थ, उक्त समस्या समाधानका निमित्त वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएको छु।’

सरकारले व्यवसायीका जायज मागलाई सम्बोधन नगर्दा आन्दोलनमा उत्रन परेको भन्दै श्रेष्ठले यस विषयमा अबका दिनमा सबै सरोकारवालाहरु एकठाउँमा बसेर छलफल गरेर निकास दिनुपर्ने बताए। ‘हामीले ब्याजदरलगायत अन्य विषयलाई लिएर धेरै ज्ञापन पत्र बुझायौँ भने सोहीअनुरुप आन्दोलन पनि गरियो तर महासंघको आवाजलाई सकारले सुनेन’, उनले भने, ‘पछिल्लो समय महासंघको साख गिरेका कारण सरकार लगायत सरोकारवाला निकायले हामीलाई बेवास्ता गरिररहेको छ।’ 

महासंघको उक्त गिरेको साखलाई जोगाउँदै अझ दरिरो रुपमा अघि बढाउन आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको समेत श्रेष्ठले जानकारी दिए।