काठमाण्डौ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले  तरलता प्रशोचनको  क्रम बढाएको छ । बैंकले २५ अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । 

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगालग निक्षेप तानिरहेको छ । बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत पुस १८ गते दिउँसो २ बजेबाट बोलकबोल  गर्न सकिने बैंकले जनाएको छ । 

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी माघ ३ गते हुनेछ । 

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले गत मंसिर महिनामा २०–२० अर्ब दुईपटक गरी ४० अर्ब रुपैयाँ संकलन गरेको थियो ।