काठमाण्डौ । बजारमा दोहोरो अंकको उछाल आएको  छ। नेप्से परिसूचक १७.१६ अंकले बढेर ११८२.३६ को विन्दूमा फर्किएको दिन कारोबार रकम ५४ करोड माथि पुगेको छ भने एनआइसी एशिया बैंकका लगानीकर्ता मालामाल भएका छन् ।

तेश्रो त्रैमासको वित्तीय विवरणका आधारमा लगानीकर्ताहरुले कम्पनीले चालु आर्थिक वर्षका लागि दिनसक्ने लाभांशको अनुमान गर्ने गर्छन् । अधिकांश वाणिज्य बैंकहरुको तेश्रो त्रैमासिक रिपोर्ट उत्साहप्रद आउने आशामा लगानीकर्ताहरुले बजारबाट न्यून विन्दूमा पुगेका वाणिज्य बैंकका सेयर छानीछानी उठाउन थालेका छन् । यहीकारण आइतबार वाणिज्य बैंक समूहको सूचकमा २.७५ प्रतिशतको उछाल देखिएको छ । 

वाणिज्य बैंकका लगानीकर्ताहरुको दिन फिर्दा एनआइसी एशिया बैंकको सेयरमा लगानीकर्ताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ । 

तेश्रो त्रैमासको एनआइसी एशियाको वित्तीय विवरण तथा प्रगति अरु बैंकभन्दा राम्रो आउने लगानीकर्ताको अपेक्षा छ। 

यसअघि हरेक त्रैमासिक रिपोर्टमा प्राय धेरै सूचकमा नम्बर वान बन्दै आएको पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक तेश्रो त्रैमासमा भने केही कमजोर हुनसक्छ । कारण, यो बैंकले यही अवधिमा सहुलियत कर्जामा विशेष ध्यान दिएको छ, जसमा निकै कम ब्याजदर तोकिएको छ । यसले समेत राबा बैंकको समग्र आम्दानीमा यो त्रैमासमा केही असर पर्नसक्छ । 

यसो हुँदा वाणिज्य बैंकमध्ये एनआइसी एशिया, नवील र नेपाल इन्भेष्टमेन्ट बैंकबीच राम्रो वित्तीय विवरण पस्किने विषयमा राम्रै प्रतिस्पर्धा देखिनसक्छ।

यहीकारण, वाणिज्य बैंकको सेयरमा एकाएक आकर्षण देखिएसँगै राम्रा कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ४.४१ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.५२ अंकको बढोत्तरी भएको छ । 

यो दिन वाणिज्य बैंक(बैंकिङ) समूह २८.१९ अंकले बढेको छ भने होटल समूहमा १३, विकास बैंक समूहमा १५, बित्त समूहमा १.७८ र जीवन बिमा समूहमा ०.१२ अंकको बढोत्तरी भएको छ । 

यो दिन जलविद्युत समूहमा २.७५ अंक, निर्जीवन बिमा समूहमा १९.२१ अंक, उत्पादनमूलकमा ५.८२ अंक र माइक्रोफाइनान्स समूहमा ०.९५ अंकको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारका १६८ कम्पनीका १८ लाख ८७ हजार ३७३ कित्ता सेयर ५४ करोड ३९ लाख ५५ हजार ६४२ रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी एनआइसी एशिया बैंकले ६ करोड ७१ लाख बढीको कारोबार गरेको छ । 

एनएमबी बैंकले ३ करोड ३१ लाख, सानिमा माई हाइड्रोले २ करोड ५५ लाख, प्रभू बैंकले २ करोड २२ लाख, एनसीसी बैंकले २ करोड २० लाख, प्राइम कमर्सियल बैंकले २ करोड ३ लाख, नेपाल बैंकले १ करोड ८७ लाख, नवील बैंकले १ करोड ७२ लाख, बैंक अफ काठमाण्डूले १ करोड ६२ लाख र एभरेष्ट बैंकले १ करोड ५७ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन एनआइसी एशिया बैंकका लगानीकर्ता मालामाल भए । यो कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ६.३६ प्रतिशतले बढ्यो । अर्थात, एकैदिन एनआइसी एशियाको मूल्य २८ रुपैयाँले बढ्यो । 

विगत केही दिनदेखि एनआइसी एशियाको सेयर मूल्य दैनिकजसो बढिरहेको छ । नवील बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले आफ्नो बैंकको प्रतिस्पर्धी बैंक एनआइसी एशिया रहेको र यो बैंकले चमात्कारिक प्रगति गरेको अभिव्यक्ति दिएसँगै लगानीकर्तामा एनआइसी एशियाप्रति आकर्षण बढेको देखिन्छ । कतिपयले त एनआइसी एशियाको सेयर मूल्य नवील बैंककै हाराहारीमा पुग्छ भन्दै बजारबाट सेयर उठाइरहेका छन्। हाल नवील बैंकको दोश्रो बजार मूल्य ७३२ रुपैयाँ रहेको छ । 

यो दिन विगत केही दिनदेखिको झै युनिभर्सल पावरका लगानीकर्ताहरुले धेरै गुमाए । यो कम्पनीको दोश्रो बजारमा कारोबार खुलेको दिनदेखि नै नेगेटिभ सर्किट व्यहोरिरहेको छ । आइतबार समेत कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लाग्यो र कम्पनीको मूल्य आइपीओ मूल्य भन्दा कम अर्थात ९८ रुपैयाँ कायम भयो ।