काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि अन्तिम तीन उम्मेदवारको नाम टुंगो लगाई सोमबार मन्त्रिपरिषदमा सिफारिस गरिएको छ ।

छनोट तथा सिफारिस समितिले विज्ञ समूहबाट मूल्यांकन भई आएका अन्तिम पाँच उम्मेदवारमध्ये भीष्मराज ढुंगाना, निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको हो । केहीदिन समितिका सदस्य डा रामकुमार फुयाँलले बिजशालासँग कुराकानी गर्दै अर्को सातासम्म तीनजनाको नाम टुंगो लगाई मन्त्रिपरिषदमा सिफारिस गरिने बताएका थिए ।

छनोटमा परेकामध्ये अन्तिम तीन उम्मेदवारमध्ये गिरी बोर्डमै कार्यरत कार्यकारी निर्देशक हुन् । ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् भने श्रेष्ठका पृष्ठभूमि खुलेको छैन ।

विज्ञ समूहले सुझाएका अन्तिम पाँच उम्मेदवारमध्ये छनोट समितिको अन्तर्वार्ता र कार्यपत्र प्रस्तुतीकरणपछि डा नवराज अधिकारी र सीताराम थपलिया बोर्ड अध्यक्षको दौडबाट बाहिरिएका हुन् । यसअघि बोर्ड अध्यक्षमा उम्मेदवारी दिएकामध्ये तीनजना भने विज्ञ समूहको मूल्यांकनबाट बाहिरिसकेका छन् ।

बोर्ड धितोपत्र बजारको नियामक निकाय हो । तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीको पदावधि असोज मसान्तमा सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त छ ।

अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थ मन्त्रालयका राजश्व सचिव शिविरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्ण आचार्य सदस्य रहेको छनोट समितिले बोड अध्यक्ष पदमा खुला प्रतिस्पर्धा आह्वान गरेको थियो । ‘अब केही दिनभित्रै मन्त्रिपरिषदले बोर्ड अध्यक्षको टुंगो लगाउनेछ’, छनोट समितिका एक सदस्यले बताए ।