काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष ब्रोकर कमिसन घटाउनैपर्ने बाध्यता दवाबलाई छल्न अमेरिका हिँडेका रहस्य खुलेको छ । 

बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगाना ब्रोकर कमिसन घटाउनैपर्ने विषयलाई ओझेलमा पार्न र ब्रोकर कमिसनको मुद्धालाई ओझेलमा पार्न अमेरिका बिदामा गएको स्रोतले दाबी गरेको छ । 

उनले यसअघि जुन समय तोकेर त्यो अवधिमा ब्रोकर कमिसन घटाउने विषयमा निर्णय हुन्छ भन्दै लगानीकर्तालाई आश्वासन दिने गरेका थिए, त्यही समयमा व्यक्तिगत काम भन्दै अमेरिका जानुले समेत ब्रोकर कमिसन घटाउने विषयलाई पर पार्ने उद्देश्यले नै यस्तो गरिएको देखिन्छ । 

ब्रोकर कमिसन पुनरावलोकनका लागि बोर्डले नै गरेको अध्ययन प्रतिवेदन तयार भइसकेको ३ महिनाभन्दा बढी हुँदा अब घट्छ भन्दै सार्वजनिक गर्ने तर ब्रोकर कमिसन नघटाउन उच्च दवाब आएकाले बोर्ड अध्यक्ष अमेरिका हिँडेका बोर्डर्क कर्मचारीहरुले दाबी गरेका छन्। 

यसअघि बोर्ड अध्यक्ष ढुंगानाले दशैंमा ब्रोकर कमिसन घट्छ भनेका थिए । सो अवधिमा घटेन, त्यसपछि भने तिहारपछि ब्रोकर कमिसन कन्फर्म घट्ने दाबी गरेका उनी एकाएक विदा लिएर अमेरिका गएका हुन् । 

नेपाल धितोपत्र बोर्डस्थित स्रोतका अनुसार बोर्ड अध्यक्ष ढुंगानाले तिहारकै भोलिपल्टदेखि पौषको पहिलो हप्तासम्म बिदा लिएका छन् । तिहारको भोलिपल्टदेखि विदा लिने प्रक्रिया पहिलादेखि नै सुरु गर्नु र लगानीकर्तालाई चाहिँ तिहारलगत्तै ब्रोकर कमिसन घट्छ भन्नुले समेत उनको नियत खराब देखिने बोर्डका कर्मचारीहरु बताउँछन् । 

ढुंगानाले आफूनिकटकाहरुलाई भने छोरीको बिहेका लागि अमेरिका गएको बताउँदै आएका छन् ।

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने व्यक्तिगत कामका लागि अध्यक्ष बाहिर गएको तर प्रशासनिक कार्यहरुको विषयमा अध्यक्षसँग दैनिकजसो आफ्नो कुराकानी भइरहेको बताएका छन् । 

गिरीले पनि लगानीकर्ता छले
यसैबीच, ब्रोकर कमिसन घटाउने समयमा विदा लिएर अमेरिका हानिएका धितोपत्र बोर्डका अध्यक्षसँग दैनिक सल्लाह गरी प्रशासनिक काम गर्दै आएका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले पनि ब्रोकर कमिसन घटाउने माग लिएर ज्ञापनपत्र बुझाउन बुधबार बोर्डमा पुगेका लगानीकर्ताहरुलाई झुक्याएका छन् । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले आफूहरुले बिहीबार नै टेलिफोन गरी निरज गिरीसँग समय लिएको र उनले भनेकै समयमा आउँदा समेत उनले आफूहरुलाई छलेको दुःख प्रकट गरेका थिए । बोर्डका कर्मचारीहरुलाई ज्ञापनपत्र बुझाउने क्रममा रौनियारले भने-'निरज गिरी सरले भनेकै समय मिलाएर हामी आएका थियौं, तर उहाँ भने नआउँदा साह्रै दुःख लागेको छ । उहाँले हामीलाई छल्नु भयो ।' 

अन्य लगानीकर्ता पनि अध्यक्ष अमेरिका गएको र ब्रोकर कमिसनजस्तो महत्वपूर्ण मुद्धाको विषयमा ज्ञापनपत्र बुझाउन आफूहरु आउँदा समय दिएर गिरी नबस्नुले धितोपत्र बोर्ड यो विषयमा अनुदार बन्दै गएको संकेत मिल्ने बताएका थिए । 

बोर्डका कर्मचारीहरुले भने गिरी जरुरी बैठकका लागि अर्थमन्त्रालय गएका दाबी गरेका थिए । 

आलटाले जवाफ
यसैबीच, लगानीकर्ताहरुको ब्रोकर कमिसन घटाउनैपर्ने माग सुनेपछि र ज्ञापनपत्र बुझेपछि धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले यो विषय आजको भोलि नटुंगिने बताएका थिए । अध्यक्ष यहाँ नरहेका र प्रवक्ता समेत बैठकमा गएका भन्दै आफूले ज्ञापनपत्र उनीहरुसम्म पुर्याइदिने उनले जानकारी गराएका थिए । 

ब्रोकर कमिसनको विषय आजको भोलि टुंगो नलाग्ने श्रेष्ठले बताएपछि लगानीकर्ता आक्रोशित बनेका थिए । उनीहरुले बोर्डबाटै गठन भएको समितिले ब्रोकर कमिसन घटाउने गरी प्रतिवेदन दिएको ३ महिना बितिसक्दा र अर्थ मन्त्रालयको समितिले ब्रोकर कमिसन घटाउन निर्देशन दिएको झण्डै एकवर्ष हुन लाग्दा समेत बोर्डले अझै टुंगो नलाग्नुले नियतमै खोट देखिएको बताएका थिए । 

लगानीकर्ताका नेताहरुले शान्तिपूर्ण रुपमा ज्ञापनपत्र बुझाउँदा आफ्ना माग नसुनिए कडा कदम चाल्न बाध्य हुने चेतावनी बोर्डका उपकार्यकारी निर्देशक श्रेष्ठमार्फत बोर्डलाई दिएका थिए ।