काठमाण्डौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। 

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो। आईओसीले हरेक १५ दिनमा पेट्रालियम पदार्थको नयाँ सूची पठाउँछ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा आईओसीले मूल्य समायोजन गर्दै आएको छ। 

आईओसीले पठाउने नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले मूल्य घटेको छ। 

यसअघि आईओसीले निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको थियो। यसअघि प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ र डिजलमा १.५ रुपैयाँ बढेर आएको थियो। 

पछिल्लो समय प्रधानमन्त्रीको निर्देशनमा निगमले डिजल र मट्टीतेलमा प्रतिलिटरमा १० रुपैयाँले मूल्य घटाएको थियो भने पेट्रोल लिटरमा ३ रुपैयाँ घटाएको थियो। 

त्यसपछि निगमले आईओसीले समेत मूल्य बढाएर पठाएपछि पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको थियो।

आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि निगमलाई अब नाफा हुने देखिन्छ। त्यसैले पेट्रालियम पदार्थको मूल्य निगमले घटाउन सक्ने सम्भावना देखिन्छ।