काठमाण्डौ । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ। 

भारतीय आयल कर्पोरेसन (आईओसी)ले शनिबार साँझ नेपाल आयल निगमनलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। जसअनुसार पेट्रोलको भाउ लिटरमा ३४ पैसाले घटेर आएको छ। 

आईओसीले डिजेलको मूल्य प्रतिलिटर २.४७ रुपैयाँले बढाएर पठाएको छ। 

आईओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ। उसले अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा मूल्य समायोजन गरेर पठाउने गरेको छ। 

हाल काठमाण्डौ उपत्यकामा प्रतिलिटर पेट्रोलको १६७.५० रुपैयाँ, डिजेल र मट्टीतेलको १४७.५० रुपैयाँ तोकिएको छ। आईओसीबाट हिजो प्राप्त नयाँ मूल्यपछि निगमलाई १५ दिनमा ५० करोड रुपैयाँ नाफा हुनेछ। 

यसैबीच निगमले आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागू गर्ने भएको छ। जसअनुसार भारतबाट आउने नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य तोक्नेछ। 

निगमका अनुसार भारतबाट घटेर आएमा पेट्रोलियम पदार्थको मूल्य नेपालमा पनि स्वतः घट्छ। यसको अर्थ अब पेट्रोलको भाउ घट्ने र डिजेलको भाउ बढ्न सक्नेछन्। तर, यसबारे निगमले निर्णय गरिसकेको छैन।