काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावितलाई जतिसक्दो चाँडा राहत सामग्री उपलब्ध गराउन सरकारसँग आफूले कुरा राख्ने बताएका छन् ।

मंगलबार जाजरकोटका भूकम्प प्रभावितहरुसँग कुरा गर्दै उनले आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुँदै जाने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताए ।
 

उनले भने, ‘तपाईंहरूका लागि अल्पकालीन र दीर्घकालीन आवश्यता पहिचान गरेर आवश्यक व्यवस्था हुन्छ । चिन्ता गर्नु पर्दैन । म सरकारसँग कुरा गर्छु ।’उनले स्थायी आवास बनाउँदा दीर्घकालीन रुपमा उपयुक्त ठाउँको पहिचान गर्नुपर्ने पनि राष्ट्रपति पौडेलको भनाइ छ ।

उनले स्थानीय जनप्रतिनिधिलाई लोकतन्त्रमा जिम्मेवार सरकार कस्तो हुन्छ भन्ने अनुभूति हुने गरी भूकम्प पीडितका लागि काम गर्न आग्रहसमेत गरेका छन् ।

राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका थिए । घाइतेहरूले उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग पीडितहरुले आग्रह गरेका छन् ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले सदरमुकाम खलंगा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको  आठबिसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाबारे जानकारी लिएका छन्। 

भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको आफ्नो यूरोप भ्रमण  स्थगित गरेका थिए।