काठमाण्डौ । सोमबारसम्म दोश्रो बजारमा प्रतिकित्ता ७१३ रुपैयाँमा कारोबार भइरहेको नेपाल ग्रामीण विकास बैंकले आज(भदौ २७) देखि साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्दैछ । यो बैंकले आइपीओकै मूल्यमा एफपीओ निश्कासन गर्न लागेको हो । एफपीओमा भदौ ३० गतेभित्र आवेदन दिइसक्नुुपर्नेछ । 

यो कम्पनीले एफपीओका लागि धितोपत्र बोर्डमा आवेदन दिएदेखि नै चर्चा भइरहेको छ। चर्चाको एउटै कारण हो दोश्रो बजारमा ७ सय बढी मूल्यमा कारोबार भइरहेको सेयर एफपीओमार्फत प्रतिकित्ता १ सय रुपैयाँमै पाइने गज्जबको अफर । आइपीओकै मूल्यमा एफपीओ हालसम्म कुनै पनि कम्पनीले निश्कासन गरेको थिएन । 

सरकार, नेपाल राष्ट्रबैंक र वाणिज्य बैंकहरुको समेत लगानी रहेको ग्रामीण विकास बैंकको एफपीओ १ सय रुपैयाँमा खरीद गर्न पाउनुु राम्रो अफर हो ।

नेपालको एक मात्र क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले यो कम्पनीको एफपीओलाई ‘आइपीओ ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ । तथापि, बजार मूल्य सन्तोषजनक, निकै भरपर्दा संस्थापकहरुको बलियो उपस्थिति तथा उच्च नाफा आर्जन गर्नसक्ने अथाहा संभावना रहेको यो कम्पनीको एफपीओमा लगानी गर्दा मालामाल भइने अवस्था देखिन्छ ।  इक्रा नेपालले यो बैंकलाई जुन रेटिङ दिएको छ, त्यो उपयुक्त देखिँदैन । यसको अर्थ रेटिङ अझै राम्रो हुनुपर्दथ्यो । 

यो बैंकमा ३५ प्रतिशत सेयर स्वामित्व सरकारको छ । नेपाल राष्ट्रबैंकको ४ प्रतिशत, ‘क’ वर्गका वाणिज्य बैंकहरुको १७ प्रतिशत लगानी छ । यसकारण समेत ग्रामीण विकास बैंकको संस्थागत सुुशासन राम्रो छ भने लगानी बिस्तारमा पनि यो बैंकलाई समस्या हुने देखिँदैन । यो बैंकको शाखा सञ्जाल अधिकांश वाणिज्य बैंकको भन्दा बलियो छ, भोलि फैलिने, लगानी थप बिस्तार गर्ने संभावना समेत प्रचूर छ । यो बैंकको ५३ जिल्लामा १८६ वटा शाखा छन् । वाणिज्य बैंकहरुको भन्दा पनि शाखा सञ्जाल यो हिसाबले उत्कृष्ट रहेको देखिन्छ । 

तर, इक्रा नेपालले नियामकहरुको समेत लगानी रहेको, सरकार परिवर्तन भइरहने तथा नियामक निकायको नेतृत्व समेत परिवर्तन भइरहने हुँदा त्यसको प्रभावले लगानी बिस्तारमा बाधा उत्पन्न हुनसक्ने तथा नाफामा समेत नकारात्मक प्रभाव पर्नसक्ने दाबी गर्दै ग्रेड फोर रेटिङ दिएको स्पष्टीकरण दिएको छ । इक्रा नेपालको यो प्रष्टीकरण पनि सन्तोषजनक लाग्दैन । 

अर्कोतर्फ, नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुले कुल कर्जाको ५ प्रतिशत विपन्नमा लगानी गर्नुपर्ने र त्यसमध्ये पनि २ प्रतिशत प्रत्यक्ष लगानी गर्नुपर्ने बाध्यकारी व्यवस्था हटाएपछि त्यसको फाइदा अन्य माइक्रो फाइनान्सलाई झै नेपाल ग्रामीण विकास बैंकलाई समेत हुने देखिन्छ । पाँचवटै विकास क्षेत्रमा बलियो उपस्थिति रहेको यो बैंकमार्फत वाणिज्य बैंकहरुले विपन्न कर्जा प्रवाह गर्नेछन्, यसले कारोबार तथा लगानी बिस्तार भई ग्रामीण विकास बैंक अझ फस्टाउन तथा नाफामा छलाङ मार्नसक्ने अथाहा संभावना छ । 

शाखा सञ्जाल दूरदराजसम्म पुुगेका कारण विपन्न वर्गको कर्जा वाणिज्य बैंकबाट सापटी लिई व्यापक परिचालन गर्ने क्षमता यो ग्रामीण विकास बैंकसँग रहेको देखिन्छ । 

यो बैंकको अन्तिम कारोबार मूल्य प्रति कित्ता ७ सय १३ रुपैयाँ रहेको छ । प्रतिकित्ता यति धेरै मूल्यमा कारोबार भइरहेको सेयरलाई १ सय रुपैयाँमा एफपीओमार्फत खरीद गर्न पाउनुु नै लगानीकर्ताका लागि सुनौलो अवसर बन्नेछ । यसकारण समेत ग्रामीण विकास बैंकको एफपीओमा ढुक्कले लगानी गर्दा घाटा लाग्ने अवस्था देखिन्न । 

आर्थिक वर्ष २०७३/७४ मा यो बैंकले १६ करोड १४ लाख खूद नाफा आर्जन गरेको थियो । कर्मचारी व्यवस्थापन खर्च र अन्य केही अनपेक्षित खर्च बढ्दा यसको नाफा केही खुम्चिए पनि समग्रमा यो बैंकको अवस्था राम्रो छ । यहीकारण समेत एफपीओमा ढुक्कले लगानी गर्दा डूूब्ने अवस्था छैन ।

हाल यो बैंकको चुक्तापूँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । हाल यो बैंकमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व अनुपात ८२.१३ : १७.८७ प्रतिशत छ । एफपीओपछि यसको चुक्तापुँजी ६५ करोड ५० लाखको उचाईमा पुुग्नेछ भने संस्थापक स् सर्वसाधारणको सेयर स्वामित्व अनुपात ६९.९०: ३०.१० प्रतिशतमा रुपान्तरण हुुनेछ । 

ग्रामीण विकास बैंक राष्ट्रिय स्तरको माइक्रो फाइनान्स कम्पनी हो । तत्कालीन पूर्वाञ्चल ग्रामीण विकास बैंक, मध्यमाञ्चल ग्रामीण विकास बैंक, पश्चिमाञ्चल ग्रामीण विकास बैंक, मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक र सुुदुरपश्चिमाञ्चल ग्रामीण विकास बैंकबीच २०१४ मा मर्जर भई ग्रामीण विकास बैंक बनेको हो ।

कतिका लागि दिने आवेदन ?
नेपाल ग्रामीण विकास बैंकले कुनै प्रिमियम मूल्य नराखी अंकित दर(रु १००)मै ९ लाख ७५ हजार कित्ता साधारण सेयरको अतिरिक्त निश्कासन गर्न लागेको हो । यो कम्पनीको दोश्रो बजारमा अन्तिम कारोबार मूल्य प्रतिकित्ता ७ सय ५५ रुपैयाँ रहेको छ । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ४ हजार ८ सय ७० कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । 

धितोपत्र बोर्डले साउनदेखि सार्वजनिक निश्कासनहरुको क्रममा प्रत्येक आवेदकले १० कित्ता अनिवार्य पाउने व्यवस्था गरेको छ । ग्रामीण विकास बैंकको एफपीओमा लगानी गर्न धेरै लगानीकर्ता तयार रहेका कारण ९७ हजार ५ सय भन्दा बढी आवेदन पर्ने देखिन्छ । ९७ हजार ५ सय मात्र आवेदन परे सबैले १० कित्ताले एफपीओ पाउनेछन् । त्यो भन्दा बढी आवेदन परे गोलप्रथा वा चिठ्ठा प्रथा ब्यूूँताउनुपर्नेछ । त्यसकारण, यो बैंकको एफपीओका लागि ५ हजार रुपैयाँ ठीक पारे काफी हुन्छ । 

कहाँबाट दिने आवेदन ?
धितोपत्र बोर्डले सार्वजनिक निश्कासनहरुका लागि आस्वामार्फतको आवेदनलाई अनिवार्य गरेकै कारण देशभर छरिएर रहेका आस्वा सेवा संचालनको अनुमतिप्राप्त जुनसुकै बैंक तथा बित्तीय संस्थाको शाखामा गएर एफपीओका लागि आवेदन दिन सकिन्छ । 

यो बैंकको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा प्रभूू क्यापिटल लिमीटेड रहेको छ । विवरणपत्र तथा दरखास्त फारम प्रभूू क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालय, नेपाल ग्रामीण विकास बैंकको बुटवलस्थित मुख्य कार्यालयमा समेत पाइनेछ । यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा बित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट समेत एफपीओका लागि आवेदन दिन सकिनेछ ।