काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले आउँदो मंसिर १० गतेदेखि २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ। 

कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजी ५५ करोड रुपैयाँको १ः२ अनुपातमा १ अर्ब १० करोड रुपैयाँबराबरको हकप्रद बिक्री खुला गर्न लागेको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल १ करोड १० लाख कित्ता हकप्रद सेयर जारी गरिनेछ। 

लगानीकर्ताले यो हकप्रदमा आउँदो पुस १ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत दिन सकिनेछ। 

यो हकप्रदमा धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल र घलेम्दी हाइड्रोपावरको कार्यालयबाट पनि खरिद आवेदन दिन सकिन्छ। मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र प्रभु बैंकका केही शाखाबाट पनि हकप्रद भर्न सकिने व्यवस्था गरिएको बिक्री प्रबन्धकले जनाएको छ। 

हकप्रद निष्कासन प्रयोजनार्थ गत कात्तिक ३ गते बुक क्लोज गरिएको थियो। यसको अर्थ गत कात्तिक २ गतेसम्म कायम सेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन पाउनेछन्। 

हकप्रद बिक्रीपछि घलेम्दी हाइड्रोपावरको चुक्तापुँजी १ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । हकप्रदबाट संकलित रकम संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर कायम हुने गरी लगानी गरिने कम्पनीले जनाएको छ।