काठमाण्डौ । देशका महानगर र उपमहानगर क्षेत्रमा अब जोसुकै व्यक्तिले घरजग्गाको कारोबार गर्न नपाउने भएको छ । 

सरकारले बजेटमार्फत यस्तो घोषणा गरेको हो । 

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । 

उनले पहिलो चरणमा आगामी वर्षदेखि नै सर्टिफाइड आधिकारिक व्यक्ति र कम्पनीले मात्र घरजग्गाको कारोबार गर्न पाउने व्यवस्था महानगर र उपमहानगर क्षेत्रबाट सुरु गरिने जानकारी दिएका हुन् । त्यसपछि क्रमशः नगरपालिका र गाउँपालिकाहरुमा यो व्यवस्था लागू गरिने अर्थमन्त्रीको भनाई छ । 

यसअघि नीति तथा कार्यक्रममा सरकारले आधिकारिक कम्पनीले मात्र घरजग्गाको कारोबार गर्न पाउने घोषणा गरेको थियो । तर, बजेटमा कम्पनीको साथै आधिकारिक व्यक्ति भन्ने शब्दावली पनि थपिएको हो । यसको अर्थ उपमहानगर र महानगर क्षेत्रमा अब सर्टिफाइड ब्रोकर तथा कम्पनीले मात्र घरजग्गाको कारोबार गर्न पाउनेछन् ।