काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी वर्तमान अर्थतन्त्रका समस्या र समाधानका उपायबारे छलफल गरेको छ। 

नेपाल राष्ट्र बैंक बालुवाटारमा बुधबार भएको भेटवार्तामा महासंघका अध्यक्ष ढकालले नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्य वृद्धिका कारण समस्यामा रहेकोले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए। बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएका कारण कर्जा प्रवाह हुन नसकेको उनको भनाइ थियो। 

ढकालले केन्द्रीय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिए। 

यसैगरी निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरुले कर्जाको साँवा–ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि कर्जा पुनर्संरचना र पुर्नतालिकीकरणको सुविधा दिन राष्ट्र बैंकलाई ढकालले आग्रह गरे। बैंकहरुको खराब कर्जासमेत बढ्न सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनले जोड दिए। 

भेटवार्तामा गभर्नर अधिकारीले महासंघका सुझावलाई सकारात्मक रुपमा लिएर कार्यान्वयन गरिने आश्वासन दिए। उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, बजेट र मौद्रिक नीतिमार्पmत पनि महासंघका सुझावहरु समावेश गरिने जानकारी गराए। 

यसका साथै गभर्नर अधिकारीले अहिलेको अर्थतन्त्रका समस्या समाधान गर्न महासंघसँगको सहकार्य राष्ट्र बैंकका लागि पनि महत्वपूर्ण रहेको बताए। 

भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो।