काठमाण्डौ । धितोपत्र बोर्डले माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई सर्वसाधारण तथा आयोजना प्रभावितका लागि २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयरको प्राथमिक निश्कासनका लागि अनुमति दिएको छ । 

दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा लगानी गर्न स्थानीय र सर्वसाधारणलाई छुट्ट्याइएको क्रमशः १० र १५ प्रतिशत सेयरको बिक्री खुल्ला गर्न आयोजनाले अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीयले जारी पुँजीको १० प्रतिशत अर्थात १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता र सर्वसाधारणले १५ प्रतिशत १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर पाउनेछन् । 

स्थानीयलाई अतिप्रभावित, प्रभावित र कम प्रभावित गरी ३ श्रेणीमा विभाजन गरेर सेयर वितरण गर्ने कम्पनीको योजना छ । गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएको प्रभावित र कतै नछोइएको क्षेत्र कम प्रभावितमा राखिएको छ । स्थानीयले ३० देखि ३ सय कित्तासम्म सेयर भर्न सक्नेछन् । कूल परेको आवेदनको आधारमा ३ प्रतिशत अतिप्रभावित, १४ प्रतिशत प्रभावित र १ प्रतिशत सेयर कम प्रभावितका लागि सुरक्षित गरिनेछ ।

सुरुमा स्थानीय र पछि सर्वसाधारणका लागि १५ प्रतिशत सेयर निष्कासन हुनेछ । 

सेयर खरिद गर्न अन्य बैंक तथा वित्तीय संस्था, जलविद्युत् कम्पनीले डि–म्याट खाता अनिवार्य गरेका छन् । तर, तामाकोसीको हकमा भने त्यो लागू हुने छैन । यसको अर्थ डिम्याट खाता नहुने स्थानीयले पनि आइपीओ खरीदका लागि आवेदन दिनसक्ने बताइएको छ । 

कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीका छुट्ट्याएको २४ प्रतिशत सेयर बाँडफाँड गरेको छ । 

सञ्चयकर्ता, ऋण लगानी गर्ने संस्था, प्राधिकरणका कर्मचारी र स्थानीयका लागि सेयर जारी गर्न बोर्डबाट एकै पटक स्वीकृति लिइएको थियो । तर, रोल्वालिङ खोलाको पानी मिसाएर थप विद्युत् उत्पादन गर्ने योजनापछि स्थानीय र सिभिल ठेकेदार सिनो हाइड्रोमा कार्यरत कर्मचारीले पनि सेयर पाउनुपर्ने भन्दै विरोध गरेका थिए । विरोधका कारण त्यतिबेला स्थानीयका लागि छुट्ट्याइएको सेयर निश्कासन रोकिएको थियो । समयमा निश्कासन नहुँदा कम्पनीको पुँजी परिचालन र आयोजनाको खर्च व्यवस्थापनमा समस्या भएको थियो । सेयर जारी गरेर २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ जम्मा गर्ने कम्पनीको लक्ष्य छ ।