काठमाण्डौ । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले असार तेश्रो साताभित्र आइपीओ निश्कासन गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ९१ करोड ५ लाख ९० हजार र सर्वसाधारणका लागि ९१ करोड ५८ लाख ८५ हजार कित्ता प्राथमिक सेयर निश्कासन गर्ने भएको हो । 

यो कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, नेपाल प्राधिकरण र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई २४ प्रतिशत सेयर निश्कासन गरिसकेको छ । 

पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निश्कासन गरिने र त्यसको ३–४ दिनपछि सर्वसाधारणका लागि समेत आइपीओ निश्कासन गरिने बताइएको छ । 

कम्पनीले दोलखामा ५ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको करिब ९६ प्रतिशत कार्य पूरा भइसकेको छ । यही आयोजनाका लागि सर्वसाधारण र आयोजना प्रभावित गरी २५ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । 

यो आयोजनाको एउटा युनिटबाट आगामी पुसभित्रमा विद्युत उत्पादन थालिने समेत कम्पनीका अधिकारीहरुले बताएका छन् । 

स्थानीयवासीले कम्तीमा ३० देखि बढीमा ३ सय कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिनेछ । इच्छुकले सेयर निश्कासन भएको २० भित्रमा आवेदन दिइसक्नुपर्नेछ ।

माथिल्लो तामाकोशीले यसअघि नै आइपीओ निश्कासन गर्ने भने पनि स्थानीयवासीको आन्दोलनपछि स्थगित भएको थियो । स्थानीय स्तरमा उत्पन्न विवाद समाधान भइसकेकोले अब भने असार तेश्रो साताभित्र नै सेयर निश्कासन भइसक्ने बताइएको छ ।