काठमाण्डौ । बहुप्रतिक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले असार २४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासन गर्ने भएको छ।

कम्पनीले चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १ करोड ५ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित दोलखाका बासिन्दाका लागि निश्कासन गर्ने भएको हो । 

इच्छुक स्थानीयले न्यूनतम ३० कित्तादेखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावितले अपर तामाकोशी आयोजना निर्माणस्थल तथा चरिकोटमा रहेका कृषि विकास बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र महालक्ष्मी विकास बैंकको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी, सेञ्चुरी कर्मर्सीयल बैंकको चरिकोट, सिंगटी र जिरी शाखा, मेगा बैंकको चरिकोट, मैनापोखरी र बागखोर शाखा, एनएमबि बैंकको किर्नेटार, प्राइम कर्मर्सीयल बैंकको जिरी र मैनापोखरी शाखाबाट पनि साधारण सेयरमा आवेदन गर्ने व्यवस्था गरिएको छ ।

माथिल्लो तामाकोशीले पहिलो चरणमा स्थानीयलाई सेयर बिक्री गर्न लागेको हो । त्यसपछि चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने १ करोड ५८ लाख ८५ हजार कित्ता सर्वसाधारणका लागि निश्कासन गर्नेछ । सर्वसाधारणले भने न्यूनतम ५० कित्तादेखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

स्थानीय बाहेक सर्वसाधारणले आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सक्नेछन् । 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानीकोष र सनराइज क्यापिटल रहेका छन् । 

यो कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, नेपाल प्राधिकरण र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई २४ प्रतिशत सेयर निश्कासन गरिसकेको छ । 

कम्पनीले दोलखामा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको करिब ९६ प्रतिशत कार्य पूरा भइसकेको छ । यही आयोजनाका लागि सर्वसाधारण र आयोजना प्रभावित गरी २५ प्रतिशत सेयर बिक्री गर्न लागेको हो । 

यो आयोजनाको एउटा युनिटबाट आगामी पुसभित्रमा विद्युत उत्पादन थालिने समेत कम्पनीका अधिकारीहरुले बताएका छन् । 

माथिल्लो तामाकोशीले यसअघि नै आइपीओ निश्कासन गर्ने भने पनि स्थानीयवासीको आन्दोलनपछि स्थगित भएको थियो । स्थानीय स्तरमा उत्पन्न विवाद समाधान भइसकेकोले अब भने असार तेश्रो साताभित्र नै सेयर निश्कासन भइसक्ने बताइएको छ ।