काठमाण्डौ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले बुधबार(आज)देखि आयोजना प्रभावित दोलखाका बासिन्दाका लागि साधारण सेयरको बिक्री खुलाएको छ । 

बुधबारबाट पौने तीनलाख जनाले प्रतिक्षा गरिरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयरको बिक्री खुलेको हो । आयोजनाले दोलखावासीका लागि १०० रुपैयाँ अंकित दरका १ करोड ५ लाख ९० हजार कित्ता र रु. एक अर्ब पाँच करोड ९० लाख बराबरको आईपीओ जारी गरेको हो । 

इच्छुकले न्यूनतम ३० देखि अधिकतम् तीन सय कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि गत असार २४ देखि साउन ९ गतेसम्म सेयर निष्कासन गर्ने तय गरिए पनि जिल्लाबासीको आग्रह अनुसार अवधि सारेर निश्कासन गरिएको हो । 

स्वदेशी पुँजीमा ३५ अर्ब २९ करोड लगानीको अहिलेसम्मकै ठूलो आयोजना माथिल्लो तामाकोसीले लगानीको सुनिश्चितता गर्ने क्रममा दोलखा जिल्लावासीका लागि छुट्याएको १० प्रतिशत सेयर बिक्री गर्न लागेको हो ।

स्थानीय संचारकर्मीहरुका अनुसार लगानी बढेर ४२ अर्ब भन्दामाथि जानसक्ने प्रक्षेपण भैरहँदा पनि सेयरप्रति स्थानीयको औधी आकर्षण छ । 

दोलखाबासीका लागि सेयर निष्कासन गरी बाँडफाँड गरेपछि साधारण सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । स्वपुँजी लगानीको १५ प्रतिशत अर्थात १ करोड ५८ लाख ८५ हजार कित्ता  आइपीओ सर्वसाधारणका लागि आउने छ । सर्वसाधारणले न्युनतम ५० देखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् । 

आयोजनाले साउन १६ गतेदेखि स्थानीयलाई खुलाएको आइपीओमा भदौ १४ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । 

दोलखाको लामाबगरमा निर्माणाधिन ४ सय ५६ मेगावाटको आयोजना बढीमा एकवर्षभित्र पूरा हुने अनुमान गरिएको छ । स्थानीयले यो आयोजनालाई ‘सुनको अण्डा पार्ने पोथी’को संज्ञा दिएका स्थानीय संचारकर्मीको भनाई छ । यहीकारण पनि स्थानीयमा यो कम्पनीको सेयर भर्ने उत्सुकता छ ।

जिल्लाका विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखाको २१ स्थानबाट सेयर आवेदन दिने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संख्याका शाखा नभएका स्थानमा घुम्ती संकलन केन्द्र राखिने भएको छ । स्थानीयलाई आउजाउ गर्न कठिनाई हुने दुर्गम स्थानमा स्वयंसेवक परिचालन गरी आवेदन संकलन गरिने कम्पनीले जनाएको छ । जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन । 

काठमाडौंमा बसोबास गर्दै आएका दोलखाली जनताले पनि सेयर खरिद गर्न आवेदन दिन पाउने भएका छन् । सनराइज बैंकका काठमाण्डौका ६ वटा शाखाबाट समेत आवेदन संकलनको काम हुने बताइएको छ । 

यो आयोजनाको सेयर खरिद गर्न डिम्याट खाता पनि आवश्यक नपर्ने व्यवस्था गरिएको छ। बैंकमा परिवारको कुनै एकजनाको खाता भए त्यसैमा सबैको सेयर रकम जम्मा गर्न सकिने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बिजशालालाई बताए। तर, ३ वर्षको लकिङ अवधि पूरा भएपछि भने लगानीकर्ताले अनिवार्य रुपमा डिम्याट खाता खोल्नु पर्नेछ ।

सेयर खरिद गर्न आवेदन दिन पाउने दोलखाबासीलाई आयोजनाबाट अतिप्रभावित, कमप्रभावित र प्रभावितको सूचीमा वर्गिकरण गरिएको छ । 

सेयर निष्कासन तथा बाँडफाँड गर्न नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

स्थानीय र सर्वसाधारणलाई सेयर बिक्री गरेर २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ संकलन गर्ने कम्पनीको लक्ष्य छ । कम्पनीले यसअघि सञ्चयकर्ता, निजामती, शिक्षकहरुबाट पनि सेयर संकलन गरिसकेको छ।