काठमाण्डौ । माथिल्लो तामाकोशीले सर्वसाधारणको लागि खुलाएको आइपीओमा तेश्रो दिनसम्म साढे २ गुणा बढी आवेदन परेको छ । 

यो कम्पनीको आइपीओमा तेश्रो दिनसम्म करिब ४ अर्ब रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानीकोषका रोशनजंग कार्कीले जानकारी दिएका छन् । 

आइपीओमा आइतबार साँझसम्ममादुर्इ लाख ५ हजार जनाले आवदेन दिएका छन्। 

यो कम्पनीले बिहीबारदेखि १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर निश्कासन गरेको हो । दोश्रो दिनसम्ममै मागभन्दा बढी आवेदन परिसकेका कारण अन्तिम दिनसम्म कम्पनीको आइपीओमा थामिनसक्नु आवेदन पर्ने उच्च संभावना देखिन्छ । 

आइपीओमा छिटोमा कात्तिक १९ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । 

कम्पनीले आफ्नो चुक्तापूँजीको १५ प्रतिशतको हिसाबले सर्वसाधारणका लागि सेयर निश्कासन गरेको छ । 

सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानीकोष र सनराइज क्यापिटल लिमीटेड रहेका छन् । 

यसअघि कम्पनीले सञ्चयकोषका कर्मचारी, कर्जा प्रदान गर्ने संस्थाका कर्मचारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीका लागि २ अर्ब ५३ करोड रुपैयाँ बराबरको २ करोड ५३ लाख साधारण सेयर निश्कासन गरेको थियो । 

त्यो भन्दा अझ अघि जलविद्युत कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको आयोजना प्रभावित दोलखा जिल्लाबासीका लागि सेयर निश्कासन गरेको थियो । 

सर्वसाधारणले यो आयोजनाको आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

यो कम्पनीको सेयरमध्ये ५१ प्रतिशत हिस्सा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानीकोष र राष्टिय बिमा संस्थानको नाममा रहेको छ । यीमध्ये सबैभन्दा बढी विद्युत प्राधिकरणको ४१ प्रतिशत सेयर स्वामित्व रहेको छ। 

यस्तै, सर्वसाधारण र दोलखाबासीको कम्पनीमा क्रमशः १५ र १० प्रतिशत सेयर हिस्सा कायम हुनेछ भने बाँकी रहेको २४ प्रतिशत हिस्सा कर्मचारी सञ्ययकोषका सञ्चयकर्ता, विद्युत प्राधिकरणका कर्मचारी, कम्पनीका कर्मचारी र कर्जा प्रदान गर्ने निकायका कर्मचारीको नाममा रहनेछ ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ग्रेड फोरको रेटिङ प्रदान गरेको छ । यसको अर्थ कम्पनीको आधारभूत अवस्था औसत भन्दा कमजोर छ भन्ने हो । 

यो कम्पनीले ४५६ मेगावाट क्षमताको आयोजना बनाइरहेको छ । यो कम्पनीको चुक्तापूँजी १० अर्ब ५९ करोड रहेको छ । यो देशकै सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।