काठमाण्डौ । दोलखा जिल्लाको बिगु गाउँपालिका–१ मा निर्माणाधीन ४५६ मेगावाट क्षमताको तामाकोशी जलविद्युत आयोजनाको काम लगभग अन्तिम चरणमा पुगेको छ।

हाल आयोजनाको सिभिल संचरना र हाइड्रोमोनिकल उपकरणहरुको प्राविधिक परीक्षण (वेट टेस्टिङ) को काम धमाधम भइरहेको छ। अन्य थप प्राविधि समस्या नआएमा तथा कोभिड महामारीको दोस्रो लहरले आयोजनाका कामदार तथा कर्मचारीहरुमा कुनै असर देखा नपरेको खण्डमा यी काम अबको ७–८ दिनभित्र सकिने आयोजनाले बिहीबार सूचना जारी गरी जानकारी गराएको छ। 

आयोजनाको मुख्य संरचनाहरुको निर्माण तथा उपकरण जडान कार्यहरु सम्पन्न भइसकेको छ। गत वैशाख १६ गते भौतिक पूर्वाधारमन्त्री वसन्तकुमार नेम्बाङ र पार्वत गुरुङबाट वाटरवेजमा पानी पठाउने कामको शुभारम्भ भएको थियो। 

अहिले पेनस्टक र मुख्य सुरुङमा चरण–चरणमा पानी भरी आयोजनाको सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणहरुको क्रमिक रुपमा प्राविधिक परीक्षण कार्यहरु भइरहेको हो। 

यो परीक्षणअन्तर्गत भूमिगत विद्युतगृहनजिकै पेनस्टमा जडान गरिएको आयोजनाकै सबैभन्दा संवेदनशील उपकरणका रुपमा रहेको मेन सट–अफ भल्भ तथा ६ वटा युनिटहरुमा जडान गरिएका मेन इनलेट भल्भहरुको प्राविधिक चेकजाँच र वेट टेस्टिङ सफतालपूर्वक सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।