काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा पनि माथिल्लो तामाकोशी जलविद्युतले घाटा व्यहोरेको छ।

आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार माथिल्लो तामाकोशीले ४ करोड १६ लाख रुपैयाँ घाटा व्यहोरेको हो। अघिल्लो वर्ष पनि माथिल्लो तामाकोशीले १५ करोड ४० लाख रुपैयाँ घाटा व्यहोरेको थियो।

विद्युत बिक्रीबाट आम्दानी गरिनसकेको यो कम्पनीको अन्य स्रोतबाट १ लाख १६ हजार आम्दानी गरेको छ। यस्तो आम्दानी अघिल्लो वर्ष १४ लाख ९५ हजार रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङ ८३ करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ७९ करोड ५ लाख रुपैयाँले ऋणात्मक थियो। 

कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ३९ पैसाले ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९२.१४ रुपैयाँ रहेको छ। 

यो कम्पनीले दोलखामा ४५६ मेगावाटको जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ। आयोजनाबाट उत्पादित विद्युत गत असार २१ गते राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 

हाल आयोजनामा रहेको ६ वटा युनिटमध्ये ४ वटा युनिटबाट विद्युत उत्पादन भइरहेको छ भने पाँचौँ युनिटको परीक्षण भइरहेको छ। भदौ महिनाभित्रै सबै ६ वटा युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीले राखेको छ।